काठमाडौँ: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन्। बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका छन्।
चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए। गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ।
नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने चौधरीले उल्लेख गरेका छन्। २ मिनेट समय निकालेर फारम भर्न र यो विजय यात्रामा सहभागी हुन उम्मेदवार चौधरीले सबैलाई अपिल पनि गरेका छन्।
उनले बन्द कोठामा नभई यसरी मतदाताबाट प्राप्त सल्लाहबमोजिम जनताकै बिचमा घोषणापत्र तयार गरिने बताएका छन्।


