काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको काठमाडौँ मण्डिखाटारस्थित घरमा तोडफोड भएको छ।
बालेन आगामी निर्वाचनका लागि सुदूरपश्चिम तथा मध्यपश्चिमका जिल्लाहरूमा चुनावी अभियानमा रहेको र उनकी श्रीमती सबिना काफ्ले बालेन उम्मेदवार रहेको झापा–५ मा घरदैलो कार्यक्रममा व्यस्त रहेको अवस्थामा अज्ञात समूहले शुक्रबार राति उनको घरको गेटमा तोडफोड गरेको हो।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरी शंकास्पद व्यक्तिको खोजी थालेको छ।
घरमा कोही नभएको अवस्थामा चोरी गर्ने उद्देश्यसहित तोडफोड भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको रहेको छ।
प्रहरी स्रोतका अनुसार उक्त समूहले सीसीटीभी क्यामेरा फुटेज रेकर्ड हुने डीभीआर मेसिन चोरेर लगेको छ। अन्य सामान चोरी भएकोबारे जानकारी प्राप्त भैसकेको छैन।


