काठमाडौँ: चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष सिटौलाको आइतबार १२:४५ मा निधन भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।
४५ वर्षीय सिटौला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी प्रचारप्रसारमा सहभागी हुन अछाम पुगेका थिए। त्यसक्रममा बेहोस भई लडेका उनलाई अछाम जिल्ला अस्पतालमा लगिएको थियो। श्वासप्रश्वास नरहेको अवस्थामा उनलाई अस्पताल पुर्याइएकोमा सीपीआरको ४५ मिनेटपछि मुटुको चाल फर्किएको थियो।
त्यसपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्वार गरी शुक्रबार सिटौलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो।
आईसीयुमा राखेर उपचार गर्दा उनमा ग्याग रिफ्लेक्सनको अनुपस्थिति देखिएपछि ४८ घण्टे अनुगमनमा राखिएको थियो।
अस्पतालले आइतबार दिउँसो उनलाई मृत घोषणा गरेको हो।



