काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीले नवलपरासी–१ लाई आर्थिक रुपान्तरणको आधारभूमि बनाउँदै राष्ट्रिय अर्थतन्त्र सुधार्ने अभियान चलाइएको बताएका छन्। आगामी फागुन २१ को आम निर्वाचनलाई लक्षित गर्दै बर्दघाट नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा चौधरीले आर्थिक अस्थिरता, रोजगारी अभाव र विकास अवरुद्ध हुनु नै पछिल्ला आन्दोलनहरूको मूल कारण भएको उल्लेख गर्दै कांग्रेसले अब ती पीडालाई नीतिगत र संस्थागत रूपमा सम्बोधन गर्ने बताए।
उनले जेन–जी आन्दोलनपछि देशको राजनीतिक परिस्थिति असामान्य मोडमा पुगेको देखाएको उल्लेख गर्दै उक्त आन्दोलनले देश विकास हुन नसकेको, रोजगारीको वातावरण अभाव र बिग्रिएको व्यवस्थाप्रतिको पीडालाई उजागर गरेको बताए।
चौधरीले जेन–जी आन्दोलनले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेस आफैँ परिवर्तन हुन जरुरी रहेको र सो परिवर्तन भइसकेको दाबी गरे। उनले कांग्रेसको रुपान्तरणमा नवलपरासी–१ का नेता तथा कार्यकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै यस क्षेत्रका कांग्रेसजनले तत्कालीन कांग्रेस महामन्त्री र विशेष महाधिवेशनको पक्षमा सार्वजनिक रूपमा उभिएर परिवर्तनको पक्ष लिएको बताए। चुनावपछि कांग्रेसले जेन–जी आन्दोलनका माग र युवाको आकांक्षालाई संस्थागत गर्ने पनि उनले स्पष्ट पारे।
चौधरीले पूरा कार्यकाल काम गर्न नपाएको उल्लेख गर्दै अब उनलाई राष्ट्रको अर्थतन्त्र सम्हाल्ने जिम्मेवारीसम्म पुर्याउने दायित्व स्थानीय जनताको रहेको बर्दघाट नगरपालिकाका प्रमुख शम्भु लाल श्रेष्ठले विनोद बताए। उनले विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा कांग्रेस पुनः सक्रिय र जागृत बनेको धारणा राख्दै ‘गगन प्रधानमन्त्री, विनोद अर्थमन्त्री’ भन्ने भावनालाई कार्यकर्ताले आत्मसात गरेको बताए। श्रेष्ठले विनोद चौधरीका लागि भन्दा नवलपरासी र बर्दघाटवासीका लागि उनको विजय महत्वपूर्ण हुने धारणा व्यक्त गरे।


