धनगढी: बैतडीको पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जनाको घटनास्थलमै, पाँच जनाको डडेलधुरा अस्पताल ल्याउँदै गर्दा र २ जनाको स्थानीय कोटिला स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भानदेव बडूले बताए।
दुर्घटनामा घाइते ४० जनाको डडेलधुरा अस्पताल, बझाङको देउलेक स्वास्थ्य केन्द्र र स्थानीय स्वास्थ्यचौकीमा उपचार भैरहेको छ। गम्भीर घाइते ५ जनालाई धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।
बेहुला बेहुली अर्को जीपमा रहेकाले सकुशल रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते बस चालकको बैतडीको पाटनमा उपचार भैरहेको छ।
पुर्चौडी नगरपालिका वडा– ७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस बैतडीको पुर्चौडी–७ को बडगाउँ घुम्तीमा दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचनाअधिकारी प्रहरी निरीक्षक बडूका अनुसार जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।
बसको प्रेसरपाइप फुटेर उकालोमा अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
ज्यान गुमाउनेहरूमा बेहुलाबेहुलीका आफन्त र इष्टमित्र रहेको बुझिएको छ। एकै परिवारका सदस्यहरूको दुर्घटनामा मृत्यु भएको छ।दुर्घटनामा बेहुलाका काकाहरू सहोदर दाजुभाइ नरेन्द्रराज जोशी र विष्णुदत्त जोशीको मृत्यु भएको छ। यस्तै मृत्यु हुनेमा बाबुछोरा मोहनदेव भट्ट र केशवराज भट्ट, बेहुलीका भाइ सुशील जोशीलगायत रहेका छन्।
मृत्यु हुनेमा बझाङको बिथ्थडचिर गाउँपालिका – ७ बस्ने ४० बर्षीय केशवराज जोशी, १३ बर्षीय अशोक जोशी, ३५ बर्षीय बसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी, १७ बर्षीय विशनदत्त जोशी, २८ बर्षीय दीपकराज जोशी, ४५ बर्षीय किसनदत्त जोशी, केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट,२७ बर्षीय केशवराज भट्ट जयपृथ्वी नगरपालिका – ७ का ४० बर्षीय बसन्तराज रतला, बैतडीको पुर्चौडी नगरपालिका– बस्ने ४० बर्षीय पुष्पा अवस्थी, १५ बर्षीय सुशील जोशी रहेको प्रहरीले जनाएको छ।


