जनकपुरधाम- मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाका सबै सांसदको विश्वासको मत पाएका छन्। जेठ १ गते एमालेले समर्थन फिर्ता लिएको ३०औं दिनमा मुख्यमन्त्री सरोजकुमार यादवले ‘अभूतपूर्व’ विश्वासको पाएका हुन्।
एमालेले नै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले प्रदेशसभामा उपस्थित शतप्रतिशत सांसदको मत पाएका हुन्। बैठकमा १०३ जना उपस्थित भएकोमा सबैले विश्वासको मत दिएका थिए।
एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरका अनुसार राजनीतिक दबाबको कारण समर्थन फर्ता लिएको तर सरकारले काम गरिरहेकाले समर्थन गरेको जिकिर गरे।
प्रदेश सभामा एमालेका २३ , कांग्रेसका २२, जसपाका १८, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७ सांसद छन्। नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। ३ जना स्वतन्त्र सांसद छन्।
मधेश प्रदेशका कुल सांसद १०७ भए पनि आजको बैठकमा १०३ जना उपस्थित थिए।


