काठमाडौँः जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते भएका विध्वंसात्मक घटनामा क्षतिग्रस्त युलेन्स स्कुलका पूर्वाधार पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ । सोहीसँगै विद्यालयको नेतृत्वमा पनि परिवर्तन गरिएको युलेन्स एजुकेसन फाउन्डेसनले जनाएको छ।
व्यवस्थापन समितिका अध्यक्ष डा. आरजु राणा देउवाको कार्यकाल पूरा भएपछि उनको स्थानमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. भोला थापालाई नियुक्त गरिएको छ। साथै, युलेन्सकै शिक्षक एकता राणालाई नयाँ प्रिन्सिपल नियुक्त गरिएको छ।
आक्रमणका क्रममा बाँसबारी, खुमलटार र काभ्रेको नालास्थित विद्यालयका भवनमा आगजनी र तोडफोड हुँदा करिब १ अर्ब २५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। फाउन्डेसनका अनुसार काठमाडौंस्थित संरचनाको पुनर्निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ भने ललितपुरमा आंशिक रूपमा कक्षा सञ्चालन भइरहेको छ।
नष्ट गरिएका सवारी साधनलाई विद्युतीय बसमार्फत प्रतिस्थापन गर्ने तयारी गरिएको छ। साथै, युलेन्स कलेज, ग्याप इयर कार्यक्रम र शिक्षक तालिम केन्द्र पनि क्रमशः पुनः सञ्चालनमा ल्याइँदैछ।
पूर्वप्रिन्सिपल मेदिनबहादुर लामिछाने अब फाउन्डेसनको प्रमुख प्राज्ञिक अधिकारीको जिम्मेवारीमा रहनेछन्।


