काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन्। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी छलफल भएको हो।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले मन्त्रालयबाट आएका योजनाहरू आवश्यक अध्ययन गरेर मात्रै बजेटमा समावेश गरिने बताए।
उनले सरकारले अघि सारेका नीति तथा ‘वाचापत्र’मा उल्लेख गरिएका प्रतिबद्धताहरूलाईसमेत आधार बनाएर बजेट तयार गरिने उल्लेख गरे। साथै, आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट समग्र नेपाल केन्द्रित हुने उनले स्पष्ट पारे।
उनका अनुसार बजेट निर्माण प्रक्रियालाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयस्तरबाटै योजना छनोट र प्राथमिकता निर्धारण गर्ने प्रणालीलाई बलियो बनाइँदैछ।
उनले भने, ‘आज बजेट सम्बन्धि सांसदहरुसँग छलफल थियो। योजनाहरु सम्बन्धित मन्त्रालयबाटै एक्ससाइज भएर आउछ। वाचापत्रमा जे जे लेखिएको थियो त्यसैलाई प्रतिविम्वित गर्ने गरेर आउछ। अरु जेठ १५ गते सिंङगो नेपाल केन्द्रित बजेछ आउछ।’
