काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि हाल विद्युत् उत्पादन ठप्प भएको छ।
आयोजना पुनर्निमाण अनिश्चित बनेको छ। बिजुली उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ। बिजुली बेचेर रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँसम्म आम्दानी गर्छ।
रसुवागढीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार कम्पनीमा विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन तथा अल्पकालीन गरी करीब १७ अर्ब ७० करोड रुपैयाँ ऋण रहेको छ।कम्पनीले कर्मचारी सञ्चय कोषबाट ऋण लिएको छ।
यस्तै गत वर्ष भएको क्षतिको पुनर्निमाण गर्न अल्पकालिन नगद व्यवस्थापनका साथै बाढीका कारण क्षतिग्रस्त जलविद्युत केन्द्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि कुमारी बैंक, नबिल बैंक र माउ कम्पनी चिलिमे हाइड्रोपावर लिमिटेडबाट गरी कुल २ अर्ब ८८ करोड ३० लाख रुपैयाँ अल्पकालिन थप ऋण लिएको जनाएको छ।
कुमारीबाट २ अर्ब, नबिलबाट ४९ करोड ८० लाख र चिलिमेबाट ३८ करोड १६ लाख रुपैयाँ ऋण लिएको सार्वजनिक गरिएको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख छ। कुमारीले ५९९, नबिलको ५.२३ र चिलिमेको छ प्रतिशत ब्याजदर रहेको छ।
व्यापारिक विद्युत उत्पादन हुनु अघि २०८१ पुस १५ सम्मको लागतका आधारमा आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसमेत गरी २४ अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो। यसबाट आयोजना निर्माण लागत बढेपछि कम्पनीको कर्जा–स्वपुँजी अनुपात सुरुको ५०ः५० प्रतिशतबाट परिवर्तन भई ७१ः२९ प्रतिशत कायम भएको छ।
रसुवागढी जलविद्युत पुननिर्माण गर्न २ बैंकबाट २.८८ अर्ब ऋण, आयोजनाको लागत बढ्यो
आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समय लम्बिँदै गएमा नियमित आम्दानी नहुँदा ऋणको ब्याज तथा किस्ता भुक्तानी व्यवस्थापनमा दबाब पर्न सक्ने कम्पनीले जनाएको छ।
प्राकृतिक विपत्तिका कारण विद्युत् उत्पादन बन्द भएको र आयोजना पुनःस्थापनामा समय लाग्ने भएकाले कम्पनीको नगद प्रवाह तथा ऋण सेवा क्षमतामा प्रभाव पर्न सक्ने अवस्था छ।
वास्तविक वित्तीय प्रभाव तथा ऋण सेवा व्यवस्थापनको अवस्था विस्तृत वित्तीय मूल्याङ्कनपछि मात्रै यकिन हुने कम्पनीले जानकारी दिएको छ। बाढीबाट भएको भौतिक क्षतिको बीमा दाबी प्रक्रिया भने कम्पनीले अघि बढाएको कम्पनीले जनाएको छ। आयोजना सम्बन्धित भौतिक संरचना, मेसिनरी तथा कर्मचारीको बीमा चालू रहेकाले बीमा कम्पनीलाई औपचारिक जानकारी गराएर दाबी प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
बाढीले आयोजनाका बाँधस्थलका बाहिरी संरचना, विद्युतगृह, साइट कार्यालय, कर्मचारी आवास, सवारीसाधन, हेभी इक्विपमेन्ट, पक्की पुल तथा पहुँचमार्गमा क्षति पुर्याएको छ। भूमिगत विद्युत्गृहमा लेदो भरिएको छ भने इलेक्ट्रोमेकानिकल उपकरण तथा प्रसारण लाइनका तीनओटा टावरमा पूर्ण क्षति पुगेको कम्पनीले जनाएको छ।
रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती
आयोजनास्थल पुग्ने स्याफ्रुबेँसीदेखि करीब १६ किलोमिटर सडकखण्डका चारओटा पक्की पुल तथा पहुँचमार्गसमेत नष्ट भएका छन्। सडक तथा पहुँचमार्ग पुनर्निर्माण नभएसम्म आयोजनास्थलमा पुगेर पुनःस्थापनाको काम अघि बढाउन कठिन हुने कम्पनीले जनाएको छ। प्राविधिक मूल्याङ्कनपछि मात्रै आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समय यकिन हुनेछ।
बाढीबाट भएको वास्तविक क्षतिको विस्तृत मूल्याङ्कन भइनसकेकाले पुनर्निर्माणमा लाग्ने खर्च यकिन भएको छैन। भूमिगत विद्युतगृह, इलेक्ट्रोमेकानिकल उपकरण, प्रसारण लाइन, पुल तथा पहुँचमार्गमा भएको क्षतिका कारण पुनःस्थापना लागत उच्च हुन सक्ने देखिएको छ।
बीमा दाबीबाट प्राप्त हुने रकम र पुनर्निर्माणमा लाग्ने वास्तविक खर्चबीच अन्तरले कम्पनीलाई आवश्यक पर्ने थप वित्तीय स्रोत निर्धारण गर्नेछ। त्यसैले अहिले कम्पनीका लागि बीमा दाबीको टुंगो, पुनर्निर्माण लागत र आयोजना सञ्चालनमा फर्किने समय प्रमुख वित्तीय विषय बनेका छन्।
गत वर्षको लेन्हन्दे खोला बाढीबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाई रसुवागढीको छ।
यसैबीच बाढीमा आयोजनामा कार्यरत ९२ जना अझै बेपत्ता रहेको कम्पनीले जनाएको छ। खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पर्वतारोही संघका दक्ष पर्वतारोही, इन्जिनियर तथा टनेल विज्ञ परिचालन गरिएको छ। खोजीका क्रममा एक कर्मचारीको शव पहिचान भएको कम्पनीले जनाएको छ।
