काठमाडौँ: गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजनाको पुनर्निर्माणका लागि विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले दुई बैंकबाट पौने तीन अर्ब रुपैयाँ ऋण लिएको छ।
रसुवागढी हाइड्रोपावरले अल्पकालिन नगद व्यवस्थापनका साथै बाढीका कारण क्षतिग्रस्त जलविद्युत केन्द्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि कुमारी बैंक, नबिल बैंक र माउ कम्पनी चिलिमे हाइड्रोपावर लिमिटेडबाट गरी कुल २ अर्ब ८८ करोड ३० लाख रपैयाँ अल्पकालिन पनि ऋण लिएको जनाएको छ।
कुमारीबाट २ अर्ब, नबिलबाट ४९ करोड ८० लाख र चिलिमेबाट ३८ करोड १६ लाख रुपैयाँ ऋण लिएको सार्वजनिक गरिएको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख छ। कुमारीले ५.९९, नबिलको ५.२३ र चिलिमेको छ प्रतिशत ब्याजदर रहेको छ।
आयोजना निर्माणका बखत पनि विविध काबुबाहिरको परिस्थिति श्रृजना भई तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा सुरु अनुमानको तुलनामा निर्माण लागत वृद्धि भएको थियो।
व्यापारिक विद्युत उत्पादन हुनु अघि २०८१ पुस १५ सम्मको लागतका आधारमा आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसमेत गरी २४ अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो। यसबाट आयोजना निर्माण लागत बढेपछि कम्पनीको कर्जा–स्वपुँजी अनुपात सुरुको ५०ः५० प्रतिशतबाट परिवर्तन भई ७१ः२९ प्रतिशत कायम भएको छ।
रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती
आयोजनाबाट २०८१ पुस १६ देखि व्यापारिक विद्युत उत्पादन सुरु भएको हो। कर्मचारी सञ्चय कोषबाट साँवा १० अर्ब १६ करोड २१ लाख र उक्त अवधिसम्म ऋण रकममा पुँजीकृत भएको ब्याज छ अर्ब २७ करोड ५२ लाख ७९ हजार ७३५ गरी कुल ऋण १६ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ कायम भएको थियो।
आयोजनाबाट व्यापारिक विद्युत उत्पादनपछि कम्पनीले उक्त ऋण तिर्न सुरु गरी पहिलो किस्ता २०८१ चैतमा सञ्चय कोषलाई ६५ करोड १४ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको थियो।
गत असारसम्म रसुवागढीले कर्मचारी सञ्चय कोषलाई १४ अर्ब ९३ करोड ७० लाख रुपैयाँ रहेको छ। सञ्चय कोषले ब्याजदर घटाएर गत साउनदेखि ६.३५ प्रतिशत कायम भएको छ। ब्याजदर घटेकाले कम्पनीको दायित्वमा कमी आउनेछ।
आयोजना सुरुमा पर्ने भएकाले सबै फिल्टर गर्नुपर्ने अवस्था रहेको छ। दिनहुँ जस्तो लेदो बगेर आउने र डिसेन्डि बेसिन सफा गर्नुपरेको आयोजनाले जनाएको छ। दिनहुँ आयोजना बन्द गरेर डिसेन्डिङ बेसिन सफा गर्नुपर्दा आयोजनाको आम्दानीमा असर परेको छ। हाल वर्खाले गर्दा कुनै दिन पानी पर्दा दिनमा दुई पटकसम्म सफा गर्नुपरेको छ।
रसुवागढी आयोजनाको ७५ प्रतिशत पुनःनिर्माण सम्पन्न, साढे तीन अर्ब क्षति
तिब्बत क्षेत्रको हिमताल फुट्नाले ल्हेन्दे खोलामा अचानक लेदो, गेग्रान तथा ठूलाठूला मुडासहित आएको बाढी नेपाल–चीन सिमाना स्थित रसुवागढी हुँदै आयोजनाको स्रोत नदी भोटेकोसी आइपुग्दा रसुवागढीको बाँधस्थल र जलविद्युत केन्द्र क्षेत्रमा रहेका अधिकांश सिभिल संरचनाहरूमा व्यापक क्षति पुर्याएको थियो। हाल आयोजना पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ।
हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणहरूमा समेत ठूलो क्षति भएको थियो। कर्मचारी आवास भवनहरू पूर्ण रुपमा क्षति भई जलविद्युत केन्द्रबाट विद्युत उत्पादन समेत बन्द भएको थियो। पुस १० बाट दोस्रो युनिट र गत जेठबाट तेस्रो युनिटबाट १११ मेगावटसम्म बिजुली उत्पादन भइरहेको छ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन भई यस कम्पनीलाई वार्षिक रुपमा तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी प्राप्त हुने अनुमान रहेको छ। कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रूपैयाँ छ।
एक अर्ब ४४ करोड नोक्सानमा
रसुवागढी हाइड्रोपावर गत आर्थिक वर्षमा एक अर्ब ४४ करोड ५८ लाख रुपैयाँ नोक्सानमा रहेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा बिजुली बेचेर कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको छ। रसुवागढीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रूपैयाँ छ।
