काठमाडौं। छिमेकी भारत र बंगलादेशमा विद्युत निर्यात ६८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले सीमापार विद्युत व्यापारबाट २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको छ।
आन्तरिक उत्पादन बढेपछि यसबीचमा नेपालले आयात गर्ने विद्युत परिमाण भने घटेको छ। गत आर्थिक वर्षमा १० अर्ब ५६ करोड रुपैयाँबराबरको मात्र बिजुली आयात गरेको छ। अघिल्लो वर्ष १६ अर्ब रुपैयाँ बढीको विद्युत भारतबाट आयात गरेको थियो।
गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालले कुल १ अर्ब १७ करोड १० लाख युनिट विद्युत भारतबाट आयात गरेको थियो।
विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
भारतसँगको पावर एक्सेचन्ज मार्केटअनुसार डे अ हेड रियल टाइम मार्केटबाट मध्यम अवधिका द्विपक्षीय सम्झौता तथा नेपाल र भारत विद्युत आदानप्रदान संयन्त्रमार्फत हुँदै आएको छ।
प्राधिकरणले हरियाणाका विद्युत वितरण कम्पनीहरूलाई दुई छुट्टाछुट्टै २०० मेगावाटका सम्झौतामार्फत कुल ४०० मेगावाट विद्युत आपूर्ति गर्ने तथा नेपाल बिहार १३२ केभी प्रसारण पूर्वाधारमार्फत बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडलाई २०० मेगावाटसम्म विद्युत निर्यात गर्ने मध्यम अवधिको सम्झौता गरेको छ।
आर्थिक वर्ष २०८२/०८३ सम्म प्राधिकरणले बंगलादेशको ४० मेगावाटसहित भारततर्फ १२ सय मेगावाटसम्म विद्युत निर्यात तथा ७५० मेगावाट आयात गरेको छ।
गत जुलाईको १४ र १५ मा सम्पन्न १३ औं संयुक्त कार्यदल तथा संयुक्त निर्देशन समितिको बैठकले बुटवल गोरखपुर प्रसारण लाइनलाई ४०० केभीमा सञ्चालन नभएसम्म अन्तरिम रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था स्वीकृत गरेको छ।
यस अवधिमा उक्त प्रसारण लाइनबाट नेपालले अधिकतम १३० मेगावाट विद्युत आयात तथा २०० मेगावाट विद्युत निर्यात गर्न सक्ने भएको छ।
यो वर्ष १६०० मेगावाट निर्यात लक्ष्य
बैठकले ढल्केबर–मुजफ्फरपुर ४०० केभी तथा ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनको संयुक्त क्षमता नेपालबाट विद्युत निर्यातका लागि १६ सय ५० मेगावाट तथा नेपालले आयातका लागि १४ सय मेगावाट कायम गर्ने निर्णय भएसँगै सीमापार विद्युत व्यापार क्षमता थप विस्तार हुने प्राधिकरणले जनाएको छ।
