काठमाडौँः कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ। आयोजनाका लागि एनएमबि बैंकको नेतृत्वमा ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुटाइएको हो।
तिला खोलामा एससी पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ। उक्त लागतको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने ऋणमार्फत जुटाइनेछ भने बाँकी रकम प्रवद्र्धकको स्वपुँजीबाट लगानी गरिनेछ।
तिला-२ आयोजनालाई जुट्यो लगानी, एभरेष्टको अगुवाइमा ११ बैंकको साढे ५२ अर्ब ऋण
वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकका रूपमा रहेको छ। ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्। अन्य बैंक तथा वित्तीय संस्थाले पनि आयोजनामा ऋण लगानी गर्नेछन्।
वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन्।
निजी क्षेत्रबाट अघि बढाइएको ठूलो आयोजना
एससी पावर कम्पनीको नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरिरहेको छ। उत्पादन अनुमतिपत्रअनुसार तिला–१ को जडित क्षमता ४४० मेगावाट रहेको छ।
निजी क्षेत्रको लगानी र नेतृत्वमा निर्माण हुन लागेको यो आयोजना जडित क्षमताका आधारमा हालसम्मकै ठूला जलविद्युत् आयोजनामध्ये एक हो।
आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गर्नुपर्नेछ।
