२०८३ कार्तिक १६ गते आईतबार

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, कार्तिक १६
Banijya_BAnk_nepal

काठमाडौँः निजी क्षेत्रमा कर्जा प्रवाहको गति अझै सुस्त देखिए पनि वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य वृद्धि भएको छ। चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमास (साउन–असोज मसान्तसम्म) मा २० वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यो गत आर्थिक वर्षको सोही अवधिको १३ अर्ब १५ करोड ८ लाख २३ हजार रुपैयाँको तुलनामा ४५.५८ प्रतिशत बढी हो।

बैंकहरूको नाफामा आएको यो वृद्धिलाई कर्जा विस्तारमा भएको तीव्र सुधारको परिणामका रूपमा मात्रै हेर्न नमिल्ने जानकारहरू बताउँछन्। कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजन) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

नेपाल राष्ट्र बैंककाअनुसार चालू आर्थिक वर्षको दुई महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ९३ अर्ब ५२ करोड रुपैयाँले बढेको छ। यससँगै भदौ मसान्तसम्म निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

दुई महिनामा यस्तो कर्जा १.६ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह ०.९ प्रतिशत अर्थात् ४९ अर्ब २४ करोड रुपैयाँले मात्रै बढेको थियो।

वार्षिक विन्दुगत आधारमा भने भदौसम्म निजी क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशत बढेको छ। यसले अघिल्लो वर्षको तुलनामा कर्जा विस्तारमा केही सुधार देखिए पनि बैंकहरूको नाफा वृद्धिको तुलनामा कर्जा विस्तारको गति अझै कम रहेको देखाउँछ। समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतले बढेको छ।

यसरी कर्जा प्रवाहमा सीमित वृद्धि हुँदा पनि नाफा उच्च दरले बढ्नुको एउटा प्रमुख कारण कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी हो। बैंकहरूले सम्भावित खराब कर्जाका लागि छुट्याउने रकम घट्दा खर्च कम हुन्छ र त्यसले खुद नाफा बढाउन मद्दत गर्छ।

प्रोभिजन घट्दा नाफामा सुधार

बैंकहरूको नाफा वृद्धिमा कर्जा असूली र कर्जाको वर्गीकरणमा आएको सुधारले महत्त्वपूर्ण भूमिका खेलेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बताउँछन्।

उनका अनुसार अधिकांश बैंकमा खराब कर्जाका रूपमा वर्गीकरण भएका केही कर्जा असल कर्जामा फर्किएका छन्। कर्जा असूलीमा सुधार आउनुका साथै कर्जा विस्तार पनि केही बढेको छ। यसले बैंकहरूको प्रोभिजन खर्च घटाउन सहयोग गरेको उनको भनाइ छ।

खालिङका अनुसार ब्याज आम्दानीमा आएको सुधारले पनि बैंकहरूको नाफा बढाउन सहयोग गरेको छ। यद्यपि, अहिले देखिएको नाफा वृद्धिलाई अत्यन्त उत्साहजनक रूपमा लिन नहुने उनको भनाई छ।

सीईओ खालिङले बाढीपहिरोबाट प्रभावित ऋणीहरूको कर्जा वर्गीकरण र भुक्तानी क्षमताबारे पनि ध्यान दिनुपर्ने बताएका छन्। प्रभावित क्षेत्रका ऋणीले तत्काल कर्जा तिर्न सक्ने अवस्था नहुन सक्ने भएकाले आगामी दिनमा त्यस्ता कर्जाको वर्गीकरण पुनरावलोकन हुँदा खराब कर्जा र प्रोभिजन फेरि बढ्न सक्ने जोखिम रहेको उनको भनाइ छ।

‘अहिले अधिकांश बैंकको खराब कर्जामा सुधार आएको छ। खराब कर्जाका रूपमा वर्गीकरण भएका केही कर्जा असल कर्जामा फर्किएका छन्। कर्जा असुलीमा पनि सुधार भएको छ। यसले बैंकहरूको प्रोभिजन खर्च घटाउन सहयोग गरेको छ। ब्याज आम्दानी र कर्जा विस्तारमा पनि केही सुधार देखिएको छ।

तर, अहिलेको नाफालाई मात्रै हेरेर बैंकिङ क्षेत्रको अवस्था निकै राम्रो भयो भन्न मिल्दैन। विशेषगरी बाढीपहिरोबाट प्रभावित क्षेत्रका ऋणीको कर्जा भुक्तानी क्षमता कमजोर हुन सक्छ। आगामी दिनमा त्यस्ता कर्जाको वर्गीकरण परिवर्तन हुँदा खराब कर्जा र प्रोभिजन फेरि बढ्न सक्ने जोखिम छ,’ खालिङले नेपाल क्लिक्सलाई भने।

अन्तरिम नाफालाई मात्रै आधार मान्न हुँदैन

वाणिज्य बैंकका एक उच्च अधिकारीले पनि पहिलो र दोस्रो त्रैमासको नाफालाई मात्रै बैंकको वास्तविक वित्तीय अवस्थाको आधार बनाउन नहुने बताएका छन्।

उनका अनुसार, बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापनका लागि आवश्यकताअनुसार रकम छुट्याएका छन् कि छैनन् भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। पहिलो र दोस्रो त्रैमासको वित्तीय विवरण अपरिष्कृत हुने भएकाले वर्षको अन्तिम त्रैमास र लेखापरीक्षणपछि आउने वास्तविक नाफालाई बढी महत्त्व दिनुपर्ने उनको भनाइ छ।

‘पहिलो र दोस्रो त्रैमासको नाफालाई मात्रै बैंकको वास्तविक वित्तीय अवस्थाको आधार मान्न हुँदैन। बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापनका लागि आवश्यकताअनुसार प्रोभिजन गरेका छन् कि छैनन् भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ। पहिलो र दोस्रो त्रैमासको वित्तीय विवरण अपरिष्कृत हुने भएकाले अन्तिम त्रैमास र लेखापरीक्षणपछि आउने वित्तीय विवरणलाई बढी महत्त्व दिनुपर्छ’ ती अधिकारीले भने।

ती अधिकारीले पछिल्लो समय केही बैंकले कर्जा असूली र व्यवसाय विस्तारमा राम्रो काम गरेका छन् भने निजी क्षेत्रमा कर्जाको माग पनि केही बढ्न थालेको छ। तर, नाफा बढेको आधार र त्यसको दिगोपन छुट्टाछुट्टै मूल्यांकन गर्नुपर्ने उनको सुझाव छ।

नाफामा नबिल हुँदा वृद्धिदरमा इन्भेष्टमेन्ट मेगा बैंक

पहिलो त्रैमासमा सबैभन्दा बढी खुदनाफा कमाउने बैंक नबिल बनेको छ। बैंकले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ थियो। यसअनुसार नबिलको नाफा ४५.४३ प्रतिशत बढेको हो।

यस्तै ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ र एनएमबी बैंकले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। समग्रमा २० मध्ये १७ बैंकको नाफा बढेको छ भने तीन बैंकको घटेको छ।

प्रतिशतका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा सबैभन्दा धेरै २ हजार ५२२.४७ प्रतिशत बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष १ अर्ब १८ करोड १४ लाख रुपैयाँ कमाएको हो। अघिल्लो वर्षको नाफा निकै कम रहेकाले यस वर्षको वृद्धिदर असाधारण देखिएको हो।

त्यस्तै, कृषि विकास बैंकको नाफा १ हजार ८०३.७१ प्रतिशत बढेर १० करोड ९२ लाख रुपैयाँ पुगेको छ। सानिमा बैंकको नाफा १३१.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड १५ लाख र सिद्धार्थ बैंकको १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख रुपैयाँ पुगेको छ।

लक्ष्मी सनराइज बैंकको नाफा ९६.६१ प्रतिशत बढेर ६५ करोड ३३ लाख रुपैयाँ पुगेको छ। नेपाल बैंकले ८३ करोड २१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ५५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

तीन बैंकको घट्यो, सिटिजन्स घाटाबाट नाफामा

समग्र बैंकिङ क्षेत्रको नाफा बढे पनि तीन बैंकको खुद नाफा भने घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २.९९ प्रतिशत घटेर ६७ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ। प्राइम कमर्सियल बैंकको नाफा ५.६२ प्रतिशतले घटेर १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, हिमालयन बैंकको नाफा ६.८४ प्रतिशत घटेर ६५ करोड ४८ लाख रुपैयाँमा झरेको छ।

अर्कोतर्फ, सिटिजन्स बैंक गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ खुद नोक्सानीमा रहेकामा चालू आर्थिक वर्षको सोही अवधिमा १० करोड ७७ लाख रुपैयाँ खुद नाफामा फर्किएको छ।
नाफा बढे पनि खराब कर्जाको जोखिम कायमै

बैंकहरूको नाफामा सुधार देखिए पनि कर्जाको गुणस्तरमा भने चुनौती कायमै छ। २० वाणिज्य बैंकको औसत खराब कर्जा अनुपात गत वर्षको पहिलो त्रैमासको ४.८६ प्रतिशतबाट बढेर चालू आर्थिक वर्षको सोही अवधिमा ५.६४ प्रतिशत पुगेको छ। यो ०.७८ प्रतिशत बिन्दुको वृद्धि हो।

समीक्षा अवधिमा प्रभु बैंकको खराब कर्जा अनुपात सबैभन्दा उच्च १४.८० प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको यस्तो अनुपात ५.७८ प्रतिशत मात्र थियो। यसले केही बैंकमा कर्जा असूली र जोखिम व्यवस्थापनको चुनौती अझै गम्भीर रहेको देखाउँछ।

समग्रमा, पहिलो त्रैमासमा बैंकहरूको नाफा ४५.५८ प्रतिशतले बढ्नु सकारात्मक भए पनि यसमा कर्जा नोक्सानी व्यवस्थापन खर्च घट्नुको प्रभाव महत्त्वपूर्ण देखिएको छ।

आगामी दिनमा नाफाको यही गति कायम राख्न कर्जा असूलीमा सुधार, खराब कर्जा नियन्त्रण, ब्याज आम्दानीको स्थायित्व र निजी क्षेत्रमा उत्पादनशील कर्जा विस्तार आवश्यक हुने बैंकरहरू बताउछन्।

प्रकाशित: २०८३ कार्तिक १६ गते आईतबार ०५:४४
प्रतिक्रिया

थप समाचार

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...

२२ करोड घाटाबाट १० करोड नाफामा फर्कियो सिटिजन्स बैंक, खराब कर्जा कति?

बैंकको नाफामा सुधार आउनुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी र सञ्चालन खर्च नियन्त्रणमा रहनु हो। स

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड नाघ्यो

काठमाडौँः ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा...

एनएमबी बैंकको नाफा २७ प्रतिशत बढ्यो, तीन महिनामा १ अर्ब १६ करोड

काठमाडौँः एनएमबी बैंकको खुदनाफा २७.११ प्रतिशत बढेको छ। बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासको सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ...

एनआईसी एशियाको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा पनि बढ्यो

काठमाडौँ: एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ। गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना