काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले आफ्नो कर्जाको गुणस्तरमा सुधार गरेको छ। बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको ०.७४ प्रतिशतबाट घटेर ०.५० प्रतिशतमा झरेको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खराब कर्जामा आएको सुधारसँगै बैंकको कर्जा जोखिम व्यवस्थापन खर्चसमेत घटेको छ। समीक्षा अवधिमा बैंकले २३ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ४२ करोड रुपैयाँ थियो।
प्रोभिजनिङ खर्चमा आएको कमीले बैंकको नाफा वृद्धिमा सहयोग पुर्याएको छ।
यद्यपि, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा २ अर्ब ४० करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा १.२६ प्रतिशतले घटेर २ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ।
बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ३.६१ प्रतिशतबाट घटेर २.९७ प्रतिशतमा झरेको छ। त्यस्तै, आधार दर (बेस रेट) ४.८५ प्रतिशतबाट घटेर ४.२५ प्रतिशत कायम भएको छ।
बैंकको कर्जा–निक्षेप अनुपात ७५.४३ प्रतिशत रहेको छ। वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ३४ रुपैयाँ ७८ पैसा पुगेको छ भने पुँजी पर्याप्तता अनुपात ११.७८ प्रतिशत रहेको छ।
यसैगरी, बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यसले बैंकको लाभांश वितरण गर्न सक्ने क्षमताका दृष्टिले सकारात्मक अवस्था देखाएको छ।


