काठमाडौँः एनएमबी बैंकको खुदनाफा २७.११ प्रतिशत बढेको छ। बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासको सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ नाघेको छ।
गत आर्थिक वर्ष २०८२९८३ को पहिलो त्रैमासमा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापन खर्च (इम्पेयरमेन्ट चार्ज) घट्नुका साथै मुख्य आम्दानीका स्रोतमा भएको सुधारले महत्वपूर्ण भूमिका खेलेको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशत बढेर १ अर्ब ८९ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुनाफा १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ हाराहारी रहेको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि ४.१९ प्रतिशत बढेको छ। अघिल्लो वर्ष २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकम २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो रकम ७१ करोड ३९ लाख रुपैयाँ थियो।
त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ०.७५ प्रतिशतले बढेर ७२ करोड १५ लाख रुपैयाँ पुगेको छ। साथै, बैंकले खुद ट्रेडिङ आम्दानीबाट २० करोड ७० लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानीबाट १२ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) अघिल्लो वर्षको पहिलो त्रैमासको ४.५८ प्रतिशतबाट बढेर ४.९२ प्रतिशत पुगेको छ।
नाफा वृद्धिको प्रभाव बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि देखिएको छ। बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १९ रुपैयाँबाट बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ।
त्यस्तै, पुँजीमा प्रतिफल (आरओई) ११.२६ प्रतिशतबाट बढेर १२.४२ प्रतिशत पुगेको छ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव भए पनि पारित हुन बाँकी रहेकाले वितरणयोग्य नाफाको अवस्था यसैअनुसार रहेको छ।


