काठमाडौँः नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य नाफा बढाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँको तुलनामा करिब ४५.४४ प्रतिशत बढी हो।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकममा आएको कमीले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। गत वर्ष पहिलो त्रैमासमा ६४ करोड ७२ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेको छ। यसले बैंकको नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ।
त्यस्तै, बैंकको मुख्य आम्दानीका स्रोतमा समेत सुधार देखिएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँबाट बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी ७९ करोड ८७ लाख रुपैयाँबाट वृद्धि भई ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
बैंकको व्यावसायिक गतिविधि पनि विस्तार भएको छ। पहिलो त्रैमाससम्म बैंकले ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। यसबीचमा बैंकले ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसले बैंकको वित्तीय कारोबारको आकार ठूलो रहेको देखाउँछ।
नाफा वृद्धिको प्रभाव प्रतिसेयर आम्दानी (इपीएस) मा समेत सकरात्मक प्रभाव परेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ३९ पैसा कायम भएको छ। त्यस्तै, बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) ४.०६ प्रतिशत छ। त्यस्तै, पूँजी कोष अनुपात ११.६७ प्रतिशत कायम भएको छ।


