काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले उक्त क्षेत्रमा र्याली, प्रदर्शन, जुलुस, भेला र नाराजुलुस गर्न रोक लगाएको हो।
फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र ऱ्यालीजस्ता गतिविधि गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएका विज्ञप्ति एवम् सूचनाहरू र सामाजिक सञ्जालका विषयवस्तुहरूप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ।
यस प्रकारका प्रदर्शन, र्याली, भेलाजम्मा जस्ता गतिविधि गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कोही कसैले पनि जानकारी गराउने तथा पूर्व स्वीकृति नलिएको प्रशासनले जनाएको छ। निर्वाचन आचारसंहिता समेत लागू भैसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा यस प्रकारका कार्यक्रममा निर्वाचन विरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको हो।
आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवम् साँस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रुपमा सम्पन्न गर्न, अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील स्थान र आसपासको क्षेत्र समेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवम् सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक संकूचन हुने गरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हडताल, र्याली, भेलाजम्मा हुने जस्ता कार्यहरू नगर्न, नगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउने जस्ता गतिविधि नगर्न, नगराउन प्रशासनले अनुरोध गरेको छ।
निषेधित र संवेदनशील क्षेत्रमा यस प्रकारका कानून विपरीतका कार्यहरूमा संलग्न हुने जो सुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ।


