काठमाडौं। बुद्धको जन्मस्थल लुम्बिनीमा अर्बौं रुपैयाँ लगानीमा तारे होटल खुल्ने क्रम बढेको छ। सिद्धार्थ नगरमा पाँचतारे होटल थपिने भएको छ। दुई अर्ब रुपैयाँ निजी लगानीमा एम्राल्ड प्यालेस निर्माण सुरु भएको हो। निर्माणाधीन होटल आगामी सन् २०२९ को मध्य जुलाईमा सञ्चालनमा ल्याउन योजना रहेको छ।
होटलमा ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। हालसम्म ११ प्रतिशत वित्तीय प्रगति भएको एम्राल्ड प्यालेसले जनाएको छ। संस्थापहरुले हालसम्म पाँच करोड रुपैयाँ लगानी गरिसकेका छन्।
बैंकसँग ऋण सम्झौताको प्रक्रियामा रहेको छ। बैंकले १९ करोड रुपैयाँ ऋण स्वीकृत गरिसकेको छ। होटल परियोजनाको निर्माणमा २२ करोड ३० लाख रुपैयाँ खर्च भइसकेको छ।
प्रस्तावित होटलमा १०९ स्ट्यान्डर्ड रुम हुनेछ। होटलमा दुई वटा सम्मेलन कक्ष र दुई वटा व्यापार केन्द्रका साथै क्यासिनो, जिम र स्पा समावेश छन्। सबै आधुनिक सुविधा उपलब्ध हुने भएको छ।
होटलमा सम्मेलन र बैक्वेट हल, स्विमिङ पूल, स्पा, हेल्थ क्लब र अन्य सुविधाहरू समावेश छन्। नेपाल–भारत सीमा नजिक रहेकाले यसबाट होटलले लाभ लिने देखिएको छ। क्यासिनोका साथै ‘वेडिङ डेस्टिनेसन’ बन्न सक्ने देखिएको छ।
निर्माणाधीन होटल रूपन्देहीको केन्द्रमा अवस्थित छ। यसलाई लुम्बिनीको प्रवेशद्वार भगवान गौतम बुद्धको जन्मस्थल पनि भनिन्छ। होटल भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८०० मिटर उत्तरमा र लुम्बिनीबाट २२ किलोमिटर र सुनौली सीमाबाट ६ किलोमिटर दुरीमा रहेको छ।
लुम्बिनी मुख्यतया धार्मिक र आध्यात्मिक गन्तव्य हो। त्यसैले यो होटलले धार्मिक तीर्थयात्रामा जाने समूह र व्यक्तिसहित शान्ति र चिन्तन खोज्ने आगन्तुकहरूलाई सेवा दिन सक्छ। भारतीय पर्यटकहरूको ठूलो आगमन विशेष गरी क्यासिनो र विवाहका लागि होटलहरूमा बढी अकुपेन्सी बढेको छ।
यो होटलले सीमापार आगन्तुकहरूको बढ्दो संख्याबाट लाभ उठाउने देखिएको छ। सरकारले पर्यटन दशक घोषणा गर्दै होटललाई कर छुट दिएको छ। गत वर्ष ११ लाख ९७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए।
एम्राल्ड प्यालेसको स्थापना सन् २०२० मा भएको हो। होटल ९६ हजार वर्गामिटर क्षेत्रफलमा फैलिनेछ। होटलका सञ्चालक योगेश घिमिरे रहेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार होटल तथा रिसोर्टलगायत अन्य पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन्।
जसमध्ये होटलमा मात्रै दुई खर्ब १९ अर्ब, ट्रेकिङ, ट्राभल, रिसोर्ट, माउन्टेनियरिङ र र्याफ्टिङमा कूल २९ अर्ब ७० करोड रुपैयाँ लगानी भएको छ। पछिल्लो समयमा मात्रै सात अर्ब ७६ करोड रुपैयाँ लगानी होटलमा थपिएको छ। होटल, रिसोर्ट, रेस्टुराँमा वा पार्टी प्यालेसमा एकै पटकमा २२ लाख मानिसहरूलाई खाना खुवाउन सक्ने क्षमता छ।


