नवलपरासी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले जनताले अब नयाँ दलले गरेका कामको हिसाबकिताब माग्नुपर्ने बेला आएको बताएका छन्। आफूले आजसम्म यो क्षेत्रमा गरेका कामहरूको ‘रिपोर्ट कार्ड’जनतासामु प्रस्तुत गरेको बताउँदै उनले नयाँ भनिएका दलहरूको पनि कामको हिसाब माग्नु पर्ने र उनिहरूलाई पनि प्रश्न गर्नुपर्ने बताए।
प्रतापपुर गाउपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसद्वारा आयोजित एक समारोहमा उनले परिवर्तन आफैँबाट सुरुवात गर्नुपर्छ भन्ने उदेश्यअनुरुप आफ्ना एजेन्डासहित कांग्रेस बदलिएर आएको उनले जिकिर गरे। ‘हामीले आफूले गरेका कामको हिसाब सार्वजनिक गरेका छौँ, तपाईँहरूले पनि नयाँ दललाई प्रश्न गर्नुस् कि टाउको कहाँ छ, पुच्छर कहाँ छ?’ उनले भने। अरुलाई बदल्नु भन्दा पहिला आफू बलदिलिनु पर्ने उनको तर्क थियो।
खजुरा खोला किनारमा निर्माण भएको उद्योग ग्राम सञ्चालनका लागि उधोगहरू स्थापनाको वातावरण तयार गर्नका लागि केही दिनभित्रै उद्योगीहरूसँग छलफलको तयारी भैरहेको समेत जानकारी दिए। केही दिनमै शाहीद स्मृति अस्पताल चौपत्तामा डायलासिस सेवा सूचना हुने हुँदा मृगौला पीडित नागरिक अब टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ थियो।
फरक प्रसङ्गमा चौधरीले आफू विगतदेखि नै थारु समुदायसँग नजिक रहेर काम गरेको उल्लेख गर्दै थारु समुदायको इमान्दारिता र उनिहरूका समस्यालाई आफूले नजिकबाट बुझेको बताए। ‘म थारु समुदायको इमान्दारितालाई राम्रोसँग बुझ्छु,मेरा उद्योगमा काम गर्ने कयौँ मजदुरहरू थारु समुदायका छ्न्, त्यसैले पनि मैले उनीहरूलाई नजिक बाट बुझेको छु,’ उनले भने।
विकास गतिलाई निरन्तरता दिनका र परिवर्तनका लागि स्थायी सरकारको आवश्यकता पर्ने हुँदा अबको निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराएर गगन थापाको नेतृत्वको सरकार अपरिहार्य रहेको चौधरीको भनाइ थियो।


