काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छन्। बुधबार बिहान उनले सामाजिक सञ्जालमार्फत् साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको जानकारी दिएकी छन्।
उनले मूलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रभावित हुँदा आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेको भन्दै यस्ता क्रियाकलापको साक्षी बसेर मौन रहन नसकेको बताएकी छन्। ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराले प्रेरित भई आफू यस पार्टीमा आवद्ध भएकोमा आसन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत देखिएको बताएकी छन्।
‘संगठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथी आंच आउने परिस्थिति बनेको छ; यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु,’ उनले भनेकी छन्, ‘त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु।’
बाराकी शर्मा २०७९ साउन १० गतेदेखि रास्वपामा आवद्ध थिइन्। मधेस प्रदेशकी संस्थापक सभापति रहेकी उनी पछिल्लो समय केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य थिइन्।
उनी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको आकांक्षी रहेकी थिइन्। समानुपातिक छनोटका लागि भएको प्राइमरी चुनावमा मधेसी क्लस्टरतर्फ उनी तेस्रो स्थानमा पुगेकोमा ११० जनाको बन्द सूची पठाउँदा उनको नाम सातौँमा पारिएको थियो।
समानुपातिकमा नपरेपछि प्रत्यक्षतर्फ बारा २ वा १ बाट चुनाव लड्ने तयारी गरेकोमा पार्टी योगदान, क्षमता र योग्यताभन्दा आर्थिक अनिमितताबाट प्रेरित भएको आरोप उनको छ।


