काठमाडौं। नेपाली कांग्रेसले बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपालको परिकल्पना गरेको छ।
बुधबार जनकपुरमा प्रतिज्ञापत्रको भिजन १० सार्वजनिक गर्दै कांग्रेसले आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने स्पष्टपारेको छ। “अब निमुखालाई ऐन र ठूलालाई चैनु हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ। सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन्” भिजन १० मा भनिएको छ।
अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालयलगायतका राज्यका संस्थाहरूमा अब दलीयकरणको अन्त्य हुने, स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुने योजना कांग्रेसको छ।
यसैगरी राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपालको अवधारणा साकार पार्ने भिजनमा उल्लेख गरिएको छ। भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्ने, नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने वातावरण बनाउने प्रतिबद्धता भिजनमार्फत गरिएको छ।
निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुने प्रतिबद्धता कांग्रेसले जनाएको छ।


