काठमाडौँः नेपाली कांग्रेसले एक वर्षभित्र नेपाललाई ‘ग्रे लिस्ट’ बाट मुक्त गर्ने संकल्प गरेको छ। बिहीबार आगामी निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेसले कानुनको संशोधन, संस्थागत सुधार र कार्यन्वयनमा देखिएका समस्याहरूको समाधान गरी एक वषभित्र नेपाललाई ग्रे लिस्ट’ बाट मुक्त गर्ने बताएको हो।
सम्पत्ति शुद्धीकरण विगत एक वर्षदेखि ग्रे लिस्टमा छ। फ्रान्सको पेरिसमा अघिल्लो वर्ष फागुनमा सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूची (ग्रे) लिस्टमा राखेको थियो।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा परेको हो। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति भएपनि संरचनागत र व्यवहारिक सुधारमा कमजोर देखिएको भन्दै एफएटिएफले यस्तो निर्णय लिएको थियो। त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा नेपालको अनुसन्धान एवम् अभियोजन निकै फितलो रहेको औंल्याइएको थियो।
नेपाल एफएटिएफको ग्रे लिस्टमा परेको यो दोस्रोपटक हो। यसअघि नेपाल सन् २०१४ मा यो सूचीबाट निस्किएको थियो। त्यसबेला नियामकीय सुधार गर्ने भनेर मार्गचित्र तयार पारी कार्यान्वयनमा आएपछि एफएटिएफको प्रत्यक्ष निगरानी हटाइएको थियो। ‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी) ले करिब तीन वर्षअघि नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्परिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन) गरेर एफएटिएफलाई प्रतिवेदन बुझाएको थियो।


