काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले राजनीति सेवामुखी हुनुपर्ने धारणा राख्दै ८५ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। झापा–५ केन्द्रित घोषणापत्रमार्फत उनले सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्ने बताएका छन्।
बालेनले भ्रष्टाचार र बेथितिविरुद्ध दृढ रूपमा उभिने प्रतिबद्धता जनाउँदै संघीय बजेट तथा नीतिमा झापा–५ का विकास आयोजनालाई प्रभावकारी रूपमा समावेश गराउने बताएका छन्। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै योजनाहरू छिटो, सहज र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण निर्माण गर्ने उनको योजना छ।
क्षेत्रगत प्रतिबद्धता
घोषणापत्रमा शिक्षातर्फ १०, पूर्वाधार ९, स्वास्थ्य ८, कृषि तथा रोजगारी ९, भूमि व्यवस्थापन ३, वातावरण ५, सुशासन ६, महिला तथा बालबालिका ६, पर्यटन तथा उद्योग ७, कला तथा संस्कृति ४ र खेलकुद ३ बुँदे प्रतिबद्धता समेटिएका छन्।
शिक्षा र मानव विकास
गरिब तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, विद्यालय छाड्ने दर शून्यमा झार्ने तथा सीपमूलक शिक्षा कार्यक्रम लागू गर्ने योजना अघि सारिएको छ। दमक बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याई युवालाई देशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि गरिएको छ।
पूर्वाधार र सहरी विकास
अधुरा आयोजनालाई समयसीमासहित सम्पन्न गर्ने, दमक–रवि चिसापानी सडक सञ्चालनमा ल्याउने, आदिवासी जनजाति रंगशाला निर्माण गर्ने र विराट बुद्ध पार्क सञ्चालनमा ल्याउने योजना घोषणापत्रमा उल्लेख छन्। साथै दमक सभागृह, भ्यू टावरलगायत संरचनालाई नागरिक उपयोगिता केन्द्रित बनाउने र रतुवा तथा मावा खोलामा तटबन्ध निर्माण गरी डुबान तथा कटान नियन्त्रण गर्ने लक्ष्य राखिएको छ।
दमकलाई आइटी हब बनाउने योजना
ग्रामीण तथा सीमावर्ती क्षेत्रमा भरपर्दो मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गर्दै दमकलाई पूर्वी नेपालको सूचना प्रविधि केन्द्र (आइटी हब) का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसका लागि आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गरिने बताइएको छ।
कृषि, रोजगारी र उद्यम
कन्काई–रतुवा सिँचाइ योजना विस्तार, लिफ्ट सिँचाइ प्रविधि प्रयोग, श्रम बैंक अवधारणा लागू गर्ने तथा गौरादह कृषि भण्डारण केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ। उत्पादनमा आधारित अनुदान, समर्थन मूल्य ग्यारेन्टी, कृषि बीमा तथा प्रविधिमैत्री खेतीमार्फत युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने लक्ष्य राखिएको छ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि उद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, महिला कृषि कर्जा कार्यक्रममार्फत सहुलियत वित्तीय पहुँच उपलब्ध गराउने तथा अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई लक्षित रोजगारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
स्वास्थ्य र सामाजिक सुरक्षा
दमक अस्पताललाई पहिलो चरणमा ३०० शय्याको अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न सरकार गठनको सय दिनभित्र आयोग गठन गरी एक हजार दिनभित्र समाधान गर्ने लक्ष्य उल्लेख गरिएको छ।
बालेनले राष्ट्रहितविपरीत कुनै सम्झौता नगर्ने, पारदर्शिता कायम गर्ने र जनताको आवाज संसद्मा निरन्तर रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। घोषणापत्रले स्थानीय विकास, सुशासन र आर्थिक अवसर विस्तारमार्फत झापा–५ लाई नमुना क्षेत्र बनाउने लक्ष्य लिएको बताइएको छ।


