काठमाडौँ: नेपालमा फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमजी) उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी डाबर नेपालले एक वर्षमा १५ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। गत वर्ष उद्योगले १५ अर्ब छ करोड रुपैयाँको व्यापार गरेको छ।
सन् २०२४ मा १६ अर्ब १६ करोड रुपैयाँ व्यापार गरेको थियो। यद्यपि, एक वर्षको अवधिमा डाबरको व्यापार झण्डै एक अर्ब रुपैयाँ घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। सन् २०२३ मा १३ अर्ब ६१ करोड रुपैयाँको व्यापार गरेको थियो। डाबरको कुल आम्दानीको ६४ प्रतिशत हिस्सा भारत निर्यातबाट भएको छ। गत वर्ष डाबरले नौ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु भारतमा निर्यात गरेको थियो।
मुलुकको कूल निर्यातमा डाबर नेपालको हिस्सा ३.७१ प्रतिशत रहेको छ। अघिल्ला आर्थिक वर्ष २४ मा डाबरले वार्षिक २० प्रतिशतको बलियो वृद्धि गरेको थियो। घरेलु मागको कारणले गर्दा भएको थियो। यद्यपि, आर्थिक वर्ष २५ मा घरेलु उपभोग र निर्यात दुवैमा गिरावट आउँदा आम्दानी घटेको हो।
डाबरको व्यवसाय खाद्य क्षेत्रहरूमा केन्द्रित छ। जसले विगतका वर्षहरूमा आम्दानीको लगभग ७० प्रतिशत योगदान पुर्याउँदै आएको छ। यद्यपि कम्पनीले व्यक्तिगत हेरचाह, स्वास्थ्य सेवा, पाचन आदि जस्ता अन्य एफएमसीजी उत्पादनहरूमा पनि काम गरिरहेको छ। डाबर नेपाल निर्यातक उद्योगहरु मध्ये सबै भन्दा बढी कर बुझाउने उद्योगको रुपमा सम्मानित हुँदै आएको छ।
उद्योगको मुलुकभर ३०० सय बिक्री आउटलेट र एक लाख बढी खुद्रा केन्द्रबाट बिक्री हुने गरेको छ।
फलफूलको जुस र पेय पदार्थ, च्यवनप्राश, ग्लुकोज, टूथपेस्ट, कपालमा लगाउने तेल, पाचन ट्याब्लेट (हजमोला) र डाबर मह र डाबर वाटिका जस्ता वस्तुहरूको उत्पादन र बिक्री गर्दै आएको छ। यसैगरी उद्योगले डाबर, रियल, हाजमोला आदि जस्ता ब्रान्डहरू स्थापना गरेको छ। जसको स्थानीय र अन्तर्राष्ट्रिय दुवै स्तरमा बलियो ब्रान्ड पहिचान छ।
विशेष गरी आयुर्वेदिक र हर्बल क्षेत्रमा बलियो उपस्थिती रहेको छ। डाबर वाटीका तेलका साथै स्वास्थ्य सेवा खण्डमा क्यान्डी र ट्याब्लेट भेरियन्टहरूमा पाचन उत्पादनहरूको लागि हाजमोला जस्ता बलियो ब्रान्डहरू समावेश छन्।
साढे नौ अर्ब लगानीमा क्षमता विस्तार
डाबरले उत्पादन बढाउन तथा वस्तु विविधिकरण परियोजना निर्माण तथा सञ्चालन गर्न नौ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको छ। डाबरले जुसलगायत पेयपदार्थ उत्पादनका लागि थप लगानी गर्न लागेको जानकारी दिएको छ।
यसअघि डाबरले उत्पादन बढाउन तथा वस्तु विविधिकरण गर्ने सो रकम लगानी गर्ने योजना सार्वजनिक गरेको थियो। लगानी थप्ने विषयमा लगानी बोर्ड र डाबरबीच २०८० वैशाखमा परियोजना समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो। २०७८ माघ २५ मा बसेको लगानी बोर्डको ४९ औं बैठकले डाबरको क्षमता अभिवृद्धि र उत्पादन विविधिकरण गर्न लगानी स्वीकृति गरेको थियो।
डाबर नेपाल सन् १९८९ मा स्थापित भएको हो। १९९२ देखि व्यवसाय सञ्चालन सुरु भएको थियो। भारतको अग्रणी बहुराष्ट्रिय कम्पनीहरू मध्ये एक डाबर इन्डिया लिमिटेडको सहायक कम्पनी हो।
डाबर नेपालमा डाबर इन्टरनेसनल लिमिटेडको बहुमत स्वामित्व छ। ९७.५ प्रतिशत हिस्सा डाबर इन्टरनेसनल लिमिटेडको र बाँकी साढे २ प्रतिशत स्वामित्व नेपाली साझेदार रुक्मशमशेर राणाको छ। राणाको निधन भइसकेको छ।
२०४६ को राजनीति परिवर्तनलगतै स्थापना भएको डाबरले नेपालमा सन् १९९२ देखि दैनिक उपभोग्य स्वास्थ्यवर्धक वस्तुको उत्पादन गरी नेपालमा बिक्री वितरण गर्नुका साथै छिमेकी भारतमासमेत निर्यात गर्दै आएको छ।


