काठमाडौँ: जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा देश मध्यावधि निर्वाचनमा गएको छ। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन लागेकोमा अब निर्वाचन आउन ८ दिन मात्रै बाँकी छ। यस्तो अवस्थामा नेपाली कांग्रेसका अपराजित नेता तथा निवर्तमान सभापति शेरबहादुर देउवा यसपटक चुनावी मैदानमा छैनन्।

२०४८ देखि निरन्तर सातपटक प्रतिनिधिसभा उम्मेदवार बनेका उनी सधैँ विजयी भए। तर जेनजी आन्दोलनपछि कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विद्रोह गरी विशेष महाधिवेशनबाट उनलाई हटाइयो। यति मात्रै होइन, नयाँ नेतृत्वले उनलाई टिकट समेत नदिएपछि देउवा अहिले निष्क्रिय छन्।

कतिसम्म भने दुई कार्यकाल सभापति भएका उनी चुनावी सभामा सक्रिय भएनन्। पाँचपटक देशको प्रधानमन्त्री भएका देउवा अहिले पार्टी गतिविधिमा पनि सक्रिय छैनन्। बरु अघोषित निर्वाचन बहिष्कार गरेर उनी चुनावको मुखमा सिङ्गापुर उडेका छन्

सचिवालयका अनुसार देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका हुन्। बुधबार राति ११:३० बजे सिङ्गापुर एयरलाइन्सको उडानबाट सिङ्गापुर प्रस्थान गरेका हुन्।

उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि सिङ्गापुर गएको बताइएको छ।