काठमाडौं– धार्मिक विशेषताको बागमती नदीलाई हिन्दु तथा बौद्धधर्ममा पवित्र मानिन्छ। बागमती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदै छन्।
उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण बागमती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास समितिले बागमती किनारमा पार्क निर्माणलाई जोड दिँदै आएको छ।
ललितपुरको ज्वागलमा २०५२ मा स्थापना भएको युएनपार्क हाल अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा छ। रुख भएका कारण हरियाली देखिने युएनपार्क आकर्षक बनाउन काम भइरहेको छ। युएनपार्कअन्तर्गतको करिब १ हजार ५७६ रोपनी जग्गा २०७५ देखि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा रहेको युएनपार्कसँगसँगै बागमती किनारमा विभिन्न पार्क निर्माण भइसकेको र कुनै निर्माणका क्रममा रहेको सूचना अधिकारी कमल अर्यालले जानकारी दिए।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी अर्यालले भने, ‘बागमती करिडोर छेउमा साना–ठूला गरी जम्मा ३१ वटा पार्क छन्। हाम्रो स्वामित्वमा भएको केही जग्गा पार्क व्यवस्थापनका लागि विभिन्न संस्थालाई निश्चित अवधिका लागि दिएका छौं। उनीहरूले संस्थागत रूपमा नाम राखेर पार्क निर्माण गरेका छन्।’
अधिकारी अर्यालका अनुसार बागमती नदीको किनारमा पार्क निर्माणका लागि नदीको माटो निकालेर पार्क व्यवस्थापन गरिएको छ। बागमती नदीले माटो बगाएर ल्याउँदा नदीमा माटो थुप्रिएर बाढी पार्क र बस्तीमा पस्छ। नदीको माटो निकालेमा बागमती नदी सलल बग्छ र पार्क र बस्तीलाई पनि जोखिम कम हुन्छ। नदी छेउमा पार्क निर्माण गर्नुले नदी सफा हुन्छ।
हाल निर्माण भएका पार्कमा टिकटको व्यवस्था गरिएको छैन। म्युजिक भिडियो सुटिङका लागि मात्र केही सीमित रकम लिने गरिएको छ। पार्क व्यवस्थापनका लागि टिकट सिस्टम व्यवस्था गरे पार्क अझै राम्रो हुने अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ।
‘पार्कमा बिहान र बेलुका मान्छेको भीडभाड हुन्छ। बिहान योगा र मर्निङवाकका लागि मान्छे आउँछन्। आजभोलि त दिउँसो अत्यधिक गर्मी हुने भएकाले गर्मी छल्न पनि मान्छे पार्कभित्र पस्छन्। अरु बेला भने बेलुकीपख धेरै पार्कभित्र घुमिरहेका हुन्छन्’, समितिका इञ्जिनियर असिम अधिकारीले भने।
समितिले बागमती करिडोरको छेउमा पार्क मात्र नभई बागमती किनारमा भूकम्पपछि भत्किएका मन्दिर पनि निर्माण गरेको छ। अबको करिब चार वर्षपछि बागमती किनारका पार्क आकर्षक देखिने उनको भनाइ छ। बागमती किनारमा निर्माण भएका विभिन्न पार्क निर्माण भइसकेपछि त्यसको राम्रोसँग व्यवस्थापन र संरक्षण गर्न महानगरलाई हस्तान्तरण गरिने समितिले जनाएको छ।


