काठमाडौँ: बिहीबार देशैभर प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान जारी छ। गत भदौमा जेनजी आन्दोलनपछि संसद् विघटन भएपछि हुन लागेको यो ऐतिहासिक मध्यावधि निर्वाचनमा आम नागरिकको सहभागिता उत्साहजनक देखिएको छ।
बिहानैदेखि मतदान केन्द्रमा मतदाताहरु लाइन बसेका छन्। राजधानी काठमाडौँसहित देशभरका १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रहरूमा बिहान ७ बजे नै मतदान प्रक्रिया सुरु भएको हो। बिहानैदेखि मतदाताहरू विशेष गरी युवा र जेष्ठ नागरिकहरू, नजिकैको मतदान केन्द्रमा लामबद्ध भएका छन्। निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था मिलाएको छ।
करिब १ करोड ८९ लाख ३ हजार ६८९ जना कुल मतदाता रहेकोमा करिब ८ लाख नयाँ युवा मतदाता रहेका छन्। कुल १६५ सिटका लागि प्रत्यक्षतर्फ र ११० सिटका लागि समानुपातिकतर्फ गरी जम्मा २७५ सदस्यका लागि मतदान भइरहेको छ।
प्रत्यक्षतर्फ ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। सुरक्षा र व्यवस्थापन निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी पुगिसकेका छन् र हालसम्म कतैबाट पनि अप्रिय घटनाको जानकारी आएको छैन।


