काठमाडौँ: प्रतिनिधिसभा निर्वाचनका लागि जारी मतदानमा बिहीबार दिउँसो ४ बजेसम्म ४५ प्रतिशत मत खसेको छ। देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेकोमा ८४ लाख ६० हजार ६ सय ७७ जनाले हालसम्म मतदान गरेका छन्।
निर्वाचन आयोगले करिब ६५ प्रतिशत मत खस्ने अनुमान गरे पनि मतदानको अवस्था हेर्दा लक्ष्यअनुसार मत खस्ने सम्भावना कम हुँदै गएको छ।
आयोगका अनुसार प्रदेशअनुसार सबैभन्दा ज्यादा गण्डकी र कर्णाली प्रदेशमा करिब आधा मतदाताले मतदान गरेका छन्। दुवै प्रदेशमा ४८ प्रतिशतले मतदान गरेका हुन्। मधेशमा सबैभन्दा कम ३२ प्रतिशत मात्रै मत खसेको छ।
कोशीमा ४६ प्रतिशत, बागमती र लुम्बिनीमा ४७ प्रतिशत र सुदूरपश्चिममा ३९ प्रतिशत मत खसेको छ।
मतदानको विवरणअनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी निर्वाचनको उत्साह देखिएको छ। उपत्यकाका तीन जिल्लामा दिउँसो चार बजेसम्म ५४ प्रतिशतभन्दा ज्यादा मत खसेको छ।


