काठमाडौँ: पछिल्ला वर्ष तारे होटलहरूमा लगानी बढिरहेको छ। मुलुकका प्रमुख पर्यटकीय गन्तव्य र सहरहरूमा ठूला व्यवसायिक घरनाहरूले अर्बौं रुपैयाँ लगानी गरिरहेका छन्। चौधरी ग्रुपको बहुलांश लगानीमा राजधानीको कान्तिपथमा पाँचतारे ओएसिस होटल बन्ने भएको छ।
ओएसिस होटलको लागत निर्माण सुरु नहुँदै २६ प्रतिशत बढेर सात अर्ब ८९ करोड ९० लाख रुपैयाँ छ। प्रस्तावित होटलमा २५० कोठाहरू हुनेछन्। आगामी सन् २०३० सम्म होटल सञ्चालनमा ल्याउने तयारी आएसिसको छ।
होटलमा ३० प्रतिशत संस्थापकहरूको स्वपुँजी र बाँकी ७० प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ। यसअघि २५ प्रतिशत संस्थापकको र बाँकी ७५ बैंकको ऋण लगानी हुने गरी संरचना बनाइएको थियो।
यसबीचमा होटलको लागत छ अर्ब २६ करोड रुपैयाँ अनुमान गरिएको थियो। निर्माण सुरु नुहँदै एक अर्ब ६३ करोड रुपैयाँ लागत बढेको छ। प्रतिकोठा लागत पनि बढेर तीन करोड २० लाख रुपैयाँ पुगेको ओएसिसले जनाएको छ। होटल निर्माण हुन भएको ढिलाइले लागत थपिएको हो। प्रतिकोठा लागत हिसावले होटल महंगो बनेको छ।
यसअघि चार वर्ष अर्थात सन् २०२६ मा पाँचतारे होटल सञ्चालनमा ल्याउन गरी सन् २०२२ को अन्तिमदेखि होटल निर्माण सुरु गर्ने लक्ष्य कम्पनीको थियो। परियोजना विकासको प्रारम्भिक चरणमा छन।
अहिलेसम्म जग्गा अधिग्रहण गरिएको छ। होटल बनाउन भनेको साढे तीन वर्ष बितिसकेको छ। जुन अझै सुरु भएको छैन। प्रस्तावित होटल १६ तलाको हुने भएको छ।
प्रस्तावित मिश्रित आवासिय भवन सात रोपनी जग्गामा बन्ने भएको छ। भवनको क्षेत्रफल २२ हजार ७०९ वर्गमिटर, हरियाली क्षेत्र २०, खुला क्षेत्र ३९.२८ र ग्राउण्ड कभरेज कुल जग्गाको ४०.६६ वर्गमिटर रहने भएको छ।
प्रस्तवित भवनमा दुई तला भूमिगतसहित कुल १६ तला र उचाइ ५२ मिटरको हुनेछ।
अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड भित्र्याएर सञ्चालनमा ल्याउने योजना बनाइएको छ। होटलको भवन परिसर करिब १० रोपनी क्षेत्रफल जमिनमा हुनेछ।
होटल निर्माणका लागि जग्गा समेत खरिद गरिसकेर निर्माणको तयारीमा जुटेको होटलमा अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ लगायतको समूहको लगानी छ। अनुमानित लागतको करिब २२ प्रतिशत रकम होटल निर्माण हुने जग्गा खरिद तथा विकासमा नै खर्च भइसकेको जनाइएको छ।
ओएसिसमा आर एण्ड आर सिटी सेन्टर प्राइभेट लिमिटेड चौधरी समूहको ४४, सुवर्णकृष्ण श्रेष्ठको ३३ प्रतिशत,अमृतरत्न शाक्य १८ प्रतिशत र शर्मा एण्ड कम्पनी प्राइभेट लिमिटेड ५ प्रतिशत स्वामित्व छ।
होटलले भौतिक निर्माण सुरु गर्न बाँकी छ। व्यवस्थापनले यसलाई आर्थिक वर्ष २०३० सम्ममासञ्चालनमा ल्याउने अपेक्षा गरेको छ।
ओसिस होटल सन् २००६ मा स्थापना भएको हो । बैंक तथा वित्तीय संस्थाहरूले होटलमा दुई खर्ब २१ अर्ब रुपैयाँ बढी ऋण लगानी गरेका छन्। यस्तै संस्थापकहरूबाट अर्बौं रुपैयाँ स्वपुँजी लगानी भएको छ।


