काठमाडौँ: फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि सकिएको छ। प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरूले बाक्लो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका थिए, जसमा सेयर कारोबारी, सहकारी सञ्चालक, अर्बपतिदेखि सञ्चार उद्यमीसम्म थिए।
नीति बनाउने कुर्सीमा व्यवसायीको आकर्षण देखिए पनि यसपटकको निर्वाचनमा पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लगायतका दल खुम्चिए। मधेशवादी दलहरू शून्यमा परे। २०७९ को प्रतिनिधिसभा निर्वाचनको संघारमा उदाएको रास्वपाले देशव्यापी लहर बनायो। यसैक्रममा उम्मेदवारी दिएका केही चर्चित उद्योगीहरू पराजित भए पनि केही उद्यमी व्यवसायीहरू संसद् छिर्ने लाइनमा छन्।
पराजित भए विनोद चौधरी र सुनिल शर्मासहितका उद्यमीहरू
प्रतिनिधिसभा निर्वाचनमा नेपालकै पहिलो अर्बपति अमेरिकी म्यागजिन फोर्ब्सको सूचीमा अटाएका एक मात्र नेपाली विनोद चौधरी नवलपरासी पश्चिम १ बाट पराजित भए।
यस्तै करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स र बुटवल अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले पनि रुपन्देही २ बाट, पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात काठमाडौँ १ बाट, जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक अनिलकुमार रुंगटा पर्सा ४ बाट, नुर ओभर्सिज म्यानपावरका सञ्चालक तिलक रानाभाट कास्की १ बाट पराजित भए।
यस्तै मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिका पूर्व अध्यक्ष भरतराज ढकाल र मुक्तिनाथकै पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ स्याङ्जा–१, मेडिकल व्यवसायी सुनिल शर्मा मोरङ ३, सञ्चार उद्यमी ऋषि धमाला रौतहट ४ बाट र कालीमाटीस्थित पुरानो मिठाई पसल ‘स्वीट केभ’का सञ्चालक सुमन सायमी काठमाडौँ ८ बा६ पराजित भए।
पर्सा ३ बाट आरपी ग्रुपका रुपेशकुमार पाण्डेय, सिराहा ४ बाट माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष वीरेन्द्रकुमार महतो, दोलखाबाट वन तथा पैदावारसम्बन्धित क्षेत्रका व्यवसायी पार्वत गुरुङ, धादिङ २ बाट ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी रमेश धमाला धादिङ २ बाट, धादिङ १ बाट पर्यटन व्यवसायी कृष्ण रिजाल धादिङ १ र घरजग्गा व्यवसायी प्रेम खत्रीले गोरखा १ बाट जित निकाल्न नसकेपछि संसद् छिर्न रोकिए।
लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया कपिलवस्तु ३, लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल मोरङ ५ बाट, मेनपावर व्यवसायीहरू एलपी साँवा झापा ४ बाट र किरणकिशोर घिमिरे दाङ २ बाट, पूर्व बैंकर तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष झपट बोहरा अछाम १ बाट, यातायात व्यवसायीहरू विजय स्वाँर कैलाली १ बाट र भागवतप्रकाश मल्ल स्याङ्जा २ बाट पराजित भए।
संसद् छिर्ने तयारीमा यी उद्यमी माननीयहरू
दर्जनौँ उद्योगी व्यवसायी पराजित भएर संसद् छिर्न रोकिए पनि थुप्रै उद्यमी व्यवसायी यसपटक नीति निर्माणको कुर्सीमा पुग्दैछन्। विभिन्न क्षेत्रबाट निर्वाचित भएसँगै उनीहरू संसद् छिर्ने तयारीमा छन्। यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा बढी रास्वपाबाट उद्यमीहरू सांसद बन्दैछन्।
वैदेशिक रोजगार र रेमिट्यान्स व्यवसाय डीपी अर्याल काठमाडौँ ९ बाट, बाजेकी सेकुवाकी निर्देशक नीतिमा भण्डारी सर्लाही १ बाट, युवा सेयर कारोबारी हरि ढकालले चितवन–१ बाट, खल्ती एपका सहसंस्थापक अरबिन्द साह बारा ३ बाट, बोस्टन इन्टरनेसनल कलेज र अंकुरम स्कुलका अध्यक्ष आनन्दबहादुर चन्द कैलाली ५ बाट र फ्याक्ट्स नेपालका संस्थापक मनिष झा धनुषा ३ बाट निर्वाचित भए। यस्तै व्यवसायी तथा भक्तपुर उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जित, पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसिइओ धनञ्जय रेग्मी स्याङ्जा १ बाट र यातायात व्यवसायी पारसमणि गेलाल उदयपुर १ बाट विजयी भए। यी सबै रास्वपाबाट निर्वाचित भएका हुन्।
यसैगरी नेपाली कांग्रेसका तर्फबाट कुरियर तथा कार्गो व्यवसायी प्रकाशसिंह कार्की सोलुखुम्बुबाट, निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट र होटल व्यवसायी योगेश गौचन मुस्ताङबाट विजयी भई संसद् छिर्दैछन्।
यसपटक एमालेबाट सबै स्थापित उद्यमी व्यवसायीहरू पराजित भएका छन्।


