काठमाडौँ- ब्रिटिस काउन्सिलले अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षा प्रणाली (आईईएलटीएस) पुरस्कार- २०२३ का लागि आवेदन खुला गरेको छ। काउन्सिलले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो।
अङ्ग्रेजी बोलिने विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि शिक्षण शुल्कतर्फ ५ हजार पाउन्ड स्टर्लिङसम्म सहयोग गर्दछ। यस वर्ष, यो पुरस्कारका चीन, जापान, हङकङ, इन्डोनेसिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान, थाइल्याण्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, नेपाल र श्रीलङ्कामा बसोबास गर्ने परीक्षार्थीहरूका लागि खुला भएको छ।
यो आईईएलटीएस परीक्षा दिएर स्नातक वा स्नातकोत्तर अध्ययनका लागि आवेदन दिएका विद्यार्थीहरू यसका लागि आवेदन दिन योग्यक हुनेछन्। जनवरी २०२३ देखि मार्च २०२४ सम्म पाठ्यक्रम सुरु भएका/सुरु हुने निश्चित भएको विद्यार्थीले मात्र यसमा सहभागी हुन पाउनेछन्। आवेदन सेप्टेम्बर १५, २०२३ सम्म दिन पाइनेछ।
ब्रिटिस काउन्सिल नेपालका परीक्षा महाप्रबन्धक म्याक्सिम राइमनले विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम ल्याइएको जानकारी दिए। ‘विश्वास गर्छौं र हामी यी महत्वाकांक्षी र बुद्धिमान व्यक्तिहरूलाई आफ्नो लक्ष्य हासिल गर्न सहयोग गर्न पाउँदा गर्व गर्छौं,’ उनले भने।
पुरस्कारको बारेमा थप जानकारी लिन यो लिंकमा जान सकिने उल्लेख छ। आईईएलटीएस उच्च शिक्षा र विश्वव्यापी प्रवासनका लागि विश्वको लोकप्रिय अङ्ग्रेजी भाषा प्रवीणता परीक्षण प्रणाली हो। विश्वव्यापी रूपमा ११ हजार ५ सयभन्दा बढी संस्थाले आईईएलटीएसमा आबद्ध छन्। यी संस्थाहरूमा शैक्षिक संस्थाहरू, रोजगारदाताहरू, सरकारहरू र व्यावसायिक निकायहरू हुन्। आईईएलटीएस ब्रिटिस काउन्सिल, आईडीको स्वामित्वमा छ।
ब्रिटिस काउन्सिल सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरूका लागि यूकेको अन्तर्राष्ट्रिय संस्था हो। कला र संस्कृति, शिक्षा र अङ्ग्रेजी भाषाका क्षेत्रमा यसले काम गर्दै आएको छ। दुई सयभन्दा बढी देश/क्षेत्रमा काम गर्दै आएको यो संस्था ६५ करोड मानिससम्म पुगेको दाबी गरेको छ।


