काठमाडौँ: नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको दावी गरेको छ। भारतबाट इन्धनको आपूर्ति नियमित भइरहेको र सम्झौता अनुसार नै पेट्रोलियम पदार्थ भित्रिरहेको आयोगको भनाइ छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भारतीय पक्षबाट इन्धनको आपूर्तिमा कुनै कटौती नभएको जानकारी दिए। ‘हाम्रो सम्झौता अनुसार नियमित रूपमा इन्धन आइरहेको छ, भारतले परिमाण घटाएको छैन,’ उनले भने, ‘बजारमा अभाव हुन लागेको भन्ने अनावश्यक हल्लाले गर्दा उपभोक्ताहरू त्रसित भएर सञ्चय गर्नतिर लाग्दा समस्या देखिएको हो।’
मनोवैज्ञानिक त्रासले बढायो लाइन
कार्यकारी निर्देशक भट्टका अनुसार अहिले देखिएको समस्या आपूर्तिमा कमी भएर नभई उपभोक्ताको मनोवैज्ञानिक त्रासका कारण सिर्जना भएको हो। भारतमा देखिएको केही प्रभाव र हल्लाका कारण नेपाली उपभोक्ताहरूले पनि असुरक्षित महसुस गरी आवश्यकताभन्दा बढी इन्धन भण्डारण गर्न थालेकाले पम्पहरूमा लाइन देखिएको उनको विश्लेषण छ।
‘बैंकमा सबैजना एकैपटक पैसा फिर्ता लिन गए भने बैंक नै टाट पल्टिए जस्तै, सबैले एकैपटक वर्ष दिनलाई पुग्ने तेल भण्डार गर्न थाले भने व्यवस्थापन गर्न कठिन हुन्छ,’ भट्टले भने।
जर्किन र बोतलमा पेट्रोल भर्न रोक
बजारमा कृत्रिम अभाव हुन नदिन निगमले जर्किन, ड्रम र मिनरल वाटरका खाली बोतलहरूमा पेट्रोल भर्न रोक लगाउने तयारी गरेको छ। सम्बन्धित सवारी साधन बाहेक अन्य भाँडामा पेट्रोल भर्न नदिने नीति कडाइका साथ लागू गरेमा बजार छिट्टै सामान्य अवस्थामा फर्कने विश्वास निगमको छ। अनावश्यक भण्डारण रोक्न यस्तो कदम चालिन लागिएको निर्देशक भट्टले बताए।
ग्यासमा आधा सिलिन्डरको विकल्प
ग्यासको आपूर्तिलाई सहज बनाउन र सबै उपभोक्ताको भान्सासम्म पुर्याउन निगमले आधा सिलिन्डर ग्यास (७.१ केजी) मात्रै भरेर बजारमा पठाउने विकल्पमा छलफल गरिरहेको छ। धेरै सिलिन्डर होल्ड गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र थोरै ग्यास सबैलाई पुर्याउन यस्तो निर्णय हुन सक्ने उनको भनाइ छ। यसबारे निगमले आजै केही ठोस निर्णय लिने तयारी गरेको छ।
कार्यकारी निर्देशक भट्टले उपभोक्तालाई अनावश्यक हल्लाको पछि नलाग्न र आवश्यकता अनुसार मात्र इन्धन खरिद गर्न आग्रह गरेका छन्। अतिरिक्त भण्डारण गर्ने काम रोकिएमा बजार २४ घण्टाभित्रै सामान्य हुने उनको दाबी छ।


