काठमाडौँ: निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि भएको खर्च सार्वजनिक गर्न उम्मेदवारलाई अनुरोध गरेको छ। ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण तथा सो विवरण सार्वजनिक गर्न अनुरोध गरेको छ।
सोअनुसार उम्मेदवारहरूले निर्वाचन खर्च सार्वजनिक गर्ने क्रम जारी छ। यसैक्रममा हालसम्म सार्वजनिक निर्वाचन खर्चअनुसार म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनको खर्च उच्च देखिएको छ। उम्मेदवारहरूले सार्वजनिक गरेको खर्च कर्मकाण्डी रहेको र लुकाइएको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताले गरिरहेको वेला पुनले सार्वजनिक गरेको खर्च देशदौडाहमा हिँडेका नेताहरूको भन्दा दोब्बर/तेब्बर देखिएको हो।
पुनले २८ लाख ६८ हजार ८६८ चुनाव खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्। यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको भन्दा ज्यादा हो। जबकि रवि र बालेन देशदौडाहमा गैरहँदा महावीर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा थिए।
हालसम्म सार्वजनिक विवरणअनुसार रास्वपाका वरिष्ठ नेता बालेनको चुनाव खर्च १४ लाख १७ हजार रहेको छ। यस्तै रविले ९ लाख ८१ हजार खर्च भएको विवरण पेस गरेका छन्।
यस्तैनेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदिप पौडेलले २३ लाख ८६ हजार, नेकपा एमालेका महासचिव तथा दाङ २ का उम्मेदवार शंकर पोखरेलले १७ लाख ५० हजार, एमाले उपाध्यक्ष विष्णु पौडेलले २८ लाख, राप्रपाबाट काठमाडौँ १ का उम्मेदवार रविन्द्र मिश्रले २३ लाख ९७ हजार, मोरङ ६ मा कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गरेकी रास्वपा नेतृ रुविना आचार्यले १२ लाख ४० हजार, प्युठानका एमाले उम्मेदवार सूर्य थापाले २४ लाख १० हजार, चितवन ३ की रास्वपा उम्मेदवार सोविता गौतमले ९ लाख ९३ हजार, तनहूँ १ रास्वपा उम्मेदवार २६ लाख ९० हजार खर्च भएको विवरण पेस गरेका छन्।



