झापा: कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो। बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उनलाई धौधौ थियो।
अभावको तुवाँलोले घेरिएको त्यो सङ्घर्षकालमा उनले कति रात भोकै त कति रात अरूको मजदुरी गरेर बिताउनुपर्यो। तर, आज उही पौरखी भीमबहादुरको जीवनको तस्बिर बदलिएको छ। हिजो अर्काको मजदुरी गर्ने भीमबहादुर आज सफल उद्यमीका रूपमा स्थापित भएका छन्।
सानैदेखिको गरिखाने यही सोचले आज उनलाई वार्षिक करोडको कारोबार गर्ने उद्यमी बनाएको हो। भृकुटीको सरस्वती टोलमा उनको गणेश नर्सरी उद्योग सञ्चालनमा छ। जहाँ पाँच सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन्। झापादेखि चितवनसम्मको बजारमा यही नर्सरीका बिरुवा बिक्री हुने गरेको छ।
विसं २०७३ मा आफ्नो खल्तीमा भएको मात्र रु दुई हजार ७०० को सानो पुँजीबाट नर्सरी व्यवसायको श्रीगणेश गरेको भीमबहादुरले बताए। सीमित स्रोत र साधनका बाबजुद उनको दृढसङ्कल्पले आकार लिँदै गयो। अहिले नर्सरी व्यवसायबाटै उनले वार्षिक करोडभन्दा बढीको आर्थिक कारोबार गर्छन्। उद्यम गरेरै उनले सुविधाजनक घर र घडेरी जोडेका छन्।
‘आफ्नै पौरखमा बाँच्नु पर्छ भन्ने सानैदेखिको मेरो भावना थियो’, उनी भन्छन्, ‘सानो छँदा कुखुरा व्यापार गरेर घरखर्च चलाउन सघाउँथे। अहिले नर्सरी उद्योग र सुपारी प्रशोधन उद्योग चलाउँदैछु। पहिले अरूकामा मजदुरी पनि गर्थेँ, अहिले अरुले मेरो उद्योगमा रोजगारी पाइरहेका छन्।’
झापा सुपारीखेतीको उर्वर भूमि भएकाले उनले सुपारीका बिरुवा उत्पादनलाई विशेष प्राथमिकता दिएको बताए। झापाको गौरादह र चितवनको रत्ननगरमा नर्सरीका शाखा फैलिएका छन्। उनले सुपारी प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन्। गाउँमा घरैपिच्छे सुपारी फलेका छन्। आफूले किसानबाट खरिद गरेको सुपारी उद्योगमा प्रशोधन गरेर बिक्री गर्दै आएको बताए। सुपारी उद्योगमा समेत स्थानीयले मनग्य रोजगारी पाएका छन्।
भीमबहादुरको सफलताको जग मेहनतको जगमा उभिएको छ। पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण सानै उमेरमा काँधमा जिम्मेवारी बोक्नुपर्यो। कहिले अरूको खेतमा पसिना बगाउने त कहिले गाउँका कुखुरा, गाई र बाख्रा डोहोर्याउँदै बजार पुर्याएर बेच्ने उनको दैनिकी थियो। स्थानीय हटियामा गाई–बाख्राको व्यापार गर्दागर्दै उनले व्यापारको कखरा सिके।
त्यतिमात्र होइन, उनले नवयुवा उमेरमा विवेचना दैनिक पत्रिका वितरण गर्ने ‘हकर’को कामसमेत गरे। कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उनी पूर्ण रूपमा स्वरोजगारको खोजीमा लागे। शिव शक्ति ग्रुप अफ कम्पनीमा काम गर्दा उनले कृषि क्षेत्रको व्यावसायिक ज्ञान र विज्ञता हासिल गरे, जसले उनको जीवनलाई नयाँ मोड दियो।
‘इमान्दारी, मेहनत र लगनशीलताका साथ काम गर्यो भने सफलता टाढा हुँदोरहेनछ’, उनको सफलतालाई नजिकबाट नियालिरहेका नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ भन्छन्, ‘आफ्नो अनुभव र सीपलाई सही ठाउँमा प्रयोग गर्न सके गाउँमै सुन फलाउन सकिँदोरहेछ। विदेश जानु पर्दोरहेनछ भन्ने उनले प्रमाणित गरिदिएका छन्।’
भीमबहादुरको यो व्यावसायिक फड्कोमा उनकी पत्नी तुलसी भट्टराईको बलियो साथ छ। ‘मैले कहिले पनि उनलाई विदेश गएर धन कमाउनुहोस् भनिनँ’, भीमबहादुरकी पत्नी तुलसी भन्छिन्, ‘उनमा अल्छी भावना कहिल्यै पाइनँ। कामलाई ठूलो र सानो भनेर छुट्याउँदैनन्। उनलाई देखेर गाउँका युवाहरू व्यवसायमा लाग्न थालेका छन्।’
भीमबहादुरले आफ्नो नर्सरी र सुपारी प्रशोधन उद्योगमा २० जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिएका छन्। व्यवसायसँगै भीमबहादुर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। भानु माध्यमिक विद्यालयमा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन् भने गाउँमा गणेश मन्दिर निर्माणका लागि जग्गा र आर्थिक सहयोग जुटाएका छन्। भृकुटी गाउँमा सुविधासम्पन्न पाटी प्यालेस निर्माणको अन्तिम तयारीमा जुटेका छन्।
रोजगारीको खोजीमा खाडी मुलुक पस्ने युवाहरूको लहरका बीच भीमबहादुर स्वदेशमै पसिना बगाएर सफल बनेको उदाहरण हुन्। मेहनत, धैर्य र निरन्तर प्रयासले कसरी एउटा सामान्य मजदुरलाई सफल उद्यमी बनाउन सक्छ भन्ने कुराको जीवन्त पात्र हुन्– भीमबहादुर।


