काठमाडौँ: इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ। यातायात व्यवस्था विभागले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भाडा समायोजनका लागि सिफारिस गर्दैछ।
चैत १ गते रातिदेखि नेपाल आयल निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको थियो। इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको मूल्य समायोजन गर्न लागिएको हो।
भाडा निर्धारण प्रक्रियाअनुसार सरोकारवाला निकायसँगको छलफलपछि विभागले भाडा निर्धारण समितिको बैठकमार्फत समायोजन हुने भाडा टुंगो लगाएको छ। सोअनुसार मन्त्रालयलाई भाडा वृद्धि गर्न स्वीकृतिका लागि सिफारिस गर्न लागिएको हो।
मन्त्रालयबाट स्वीकृत भएपछि भाडा समायोजन हुनेछ।


