काठमाडौँ- संवैधानिक परिषद्बाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका क्रममा आज पनि सदस्य उजुरीकर्ताका उजुरीमा आधारित भएर प्रश्न गर्नेछन्। बिहीबारको बैठकमा प्रधानन्यायाधीश भएपछिका भावी कार्ययोजना प्रस्तुत गरेका कार्कीलाई आज सदस्यहरुले प्रश्नोत्तर गर्नेछन्।
समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई बिहान ८ बजे सिंहदरबार बोलाएको छ। संसदीय समितिले नाम अनुमोदन गरे हाल कामु प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन्। कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत २५ वैशाखमा संवैधानिक परिषद् बैठकले सिफारिस गरेको थियो।
संवैधानिक परिषद्बाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री अध्यक्षताको संवैधानिक परिषद्बाट सर्वोच्च अदालतमा प्रस्तावित प्रधानन्यायाधीशका लागि सिफारिस भएका कार्कीको संसदीय सुनुवाइ समितिमा बिहीबारदेखि सुनुवाइ सुरु भएको छ।
हाल सर्वोच्चका कामु प्रधानन्यायाधीश रहेका कार्कीविरुद्ध ३८ उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्। समितिले कार्कीविरुद्ध उजुरी दिएकासँग बुधबार व्यक्तिगत र सामूहिक छलफल गरेको थियो। गत मंसिरदेखि न्यायालय नेतृत्वविहीन छ। प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
उजुरीमाथिको छलफल सकिएपछि कार्कीलाई समितिमा बोलाएर सोधपुछ गरिएको हो। गत आइतबार मात्रै कामु प्रधानन्यायाधीश कार्कीलाई अवकाशको मितिबारे न्याय परिषद्ले सम्झाएको थियो। कार्की ६५ वर्षे उमेर हदका कारण आगामी २० साउनदेखि अनिवार्य अवकाशमा जानेछन्। अवकाशको एक महिनाअघिदेखि प्रधानन्यायाधीश इजलासमा बस्न नपाउने कानुनी प्रावधान छ।


