काठमाडौँ: नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ। यसका लागि कम्पनीले ती देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेको जनाएको छ।
चालु आर्थिक वर्षको साउनयता लाटभिया, स्लोभेनिया, टर्की, ताइवान–आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवा प्रदायकसँग नयाँ सम्झौता भएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा पनि थप सेवा प्रदायकसँग सहकार्य विस्तार गरिएको छ।
यसअघि नै अष्ट्रेलिया, क्यानडा, चीन, भारत, जापान, यूएई, अमेरिका लगायतका विभिन्न देशमा यो सेवा उपलब्ध रहेको थियो। नयाँ विस्तारसँगै विदेश जाने वा बस्ने नेपालीहरूका लागि मोबाइल सेवा झन् सहज बनेको कम्पनीले जनाएको छ।
रोमिङ सेवा अन्तर्गत प्रयोगकर्ताले भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। आगामी दिनमा थप देशमा पनि यो सेवा विस्तार गर्ने योजना टेलिकमको छ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सक्रिय हुने व्यवस्था गरिएको छ। भारतका लागि भने मोबाइलबाट १४१५ डायल गरी ‘रोमिङ’ विकल्प चयन गर्नुपर्ने हुन्छ।
पोस्टपेड प्रयोगकर्ताले सेवा सक्रिय गर्न कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्नेछ। नेपालमै हुँदा १४१५ डायल गरी सेवा सक्रिय गर्न सकिन्छ भने विदेश पुगेपछि पनि इमेलमार्फत अनुरोध गरेर सेवा सुचारु गर्न सकिने व्यवस्था गरिएको छ।
रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा कनेक्ट हुन्छ। भारतमा भने प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्नेछ। अन्य देशमा स्वतः कनेक्ट नभए मोबाइल सेटिङमार्फत नेटवर्क छान्न सकिन्छ।


