काठमाडौं–प्रहरीलाई चिनियाँ भाषा तालिम दिइएको छ। पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई २ महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो।
प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रशिक्षणले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग सञ्चार गर्न र उनीहरूको समस्या तत्काल समाधान गर्न सहज हुने बताए।
पर्यटक प्रहरीलाई अन्य भाषाको पनि प्रशिक्षण दिन जरुरी रहेको उनले उल्लेख गरे। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीन छिमेकी भएकाले एकापसमा भाषा जाने हरेक कुरामा सहज हुने धारणा व्यक्त गरे।
चिनियाँ दूतावासका काउन्सिलर वाङ्छिन, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलगायतले प्रशिक्षणबाट पर्यटक प्रहरीलाई काम गर्न थप हौसला मिल्ने बताए।कार्यक्रममा भाषा प्रशिक्षणमा सहभागी पर्यटक प्रहरी लक्ष्मण राउत, कुमारबहादुर खड्का, सुनिता नेपाल, शुभराज महतरा र सुनिल श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
दुई महिनासम्म सञ्चालन भएको पर्यटक प्रहरी भाषा प्रशिक्षण कक्षका लागि इमर्जन म्यान्डरिन एकेडेमीले छुट्टै पाठ्यक्रम बनाएर अध्यापन गराएको एकेडेमी सञ्चालिका प्रमिला तामाङले जानकारी दिइन्।


