काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरुलाई प्रहरीले धरपकड सुरु गरेको छ। ‘अपरेसन सेफ्टी काठमाडौं’ नाम दिइएको यो ‘सुरक्षा मिसन’ अलिक लामै जाने अनुमान गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गए राति मात्रै काठमाडौंका विभिन्न ठाउँबाट कम्तिमा एक सय ९५ जनालाई प्रहरीले पक्राउ गरेको छ। खासगरी विभिन्न सेक्टरमा विचौलियाको काम गर्ने, फिरौति उठाउने र बाहुबलका भरमा चक्रिय व्याजमा लेनदेनको गैरकानुनी धन्दा चलाउनेहरुलाई प्रहरीले आफ्नो राडारमा राखेको छ।
‘केही दिनअघि गृहमन्त्री सुदन गुरुङले प्रहरी नेतृत्वलाई यसबारे योजना बनाएर काम गर्न र गुण्डाराजलाई नियन्त्रण गर्न निर्देशन दिनुभएको थियो, सोही अनुसार प्रहरीले उपत्यकामा अप्रेशन सुरु गरेको हो’, प्रहरी स्रोतले नेपाल क्लिक्ससँग भन्यो, ‘यसका लागि प्रहरी मैदानमा उत्रेको हो।’
मिसनमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएका छन्।
परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ।
श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी गर्दै आएका डिम्पलु भनिने प्रवीण तामाङ पक्राउ परेका छन्।
कलंकी–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन पक्राउ परेका छन्। कलंकीको बस टिकट काउन्टर–पेट्रोल पम्प क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा सुजन कार्की पक्राउ परेका छन्।
त्यस्तै, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा सरू हुमागाईंलाई पक्राउ गरिएको छ। परिसरले बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा बिकी लामालाई पक्राउ गरेको छ।
त्यस्तै, काठमाडौं अपराध अनुसन्धान कार्यालयले पनि १३ जनालाई पक्राउ गरेको एसएसपी सन्तोष खड्काले जानकारी दिए।
प्रहरीले गुण्डाहरुको चहलपहल हुने, उनीहरुले कारोबार गर्ने क्षेत्र म्यापिङ गरेर मिसन चलाइरहेको छ।


