काठमाडौँ: दूरसञ्चार सेवामा उपभोक्तामैत्री सुधार ल्याउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा नेपाल टेलिकमले सेवा प्रणालीमा महत्वपूर्ण परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब मोबाइल डेटा समाप्त भएपछि स्वतः ब्यालेन्स नकट्ने भएको छ।
यसअन्तर्गत ग्राहकले डेटा प्याक सकिन लाग्दा पूर्वसूचना प्राप्त गर्नेछन्। विशेषगरी ९० प्रतिशत डेटा खपत भएपछि प्रयोगकर्तालाई जानकारी दिइने व्यवस्था मिलाइएको छ। त्यसपछि इन्टरनेट प्रयोग जारी राख्ने कि नयाँ प्याक लिने भन्ने विकल्प ग्राहक आफैँले चयन गर्न सक्नेछन्। ‘पे–एज–यू–गोज’ सुविधामार्फत यो छनोट अझ लचिलो बनाइने बताइएको छ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यो प्रणाली हाल परीक्षणकै चरणमा रहेको छ। प्रारम्भिक रूपमा यूएसएसडी सेवा प्रयोगकर्तामा केही दिनमै लागू गरिनेछ भने मोबाइल एपमार्फत सेवा लिनेहरूले करिब एक सातापछि यो सुविधा प्रयोग गर्न पाउनेछन्।
सरकारले अघि बढाएको सुधार योजनाअन्तर्गत टेलिकम सेवाको गुणस्तर उकास्ने, ग्राहक सेवा प्रभावकारी बनाउने र डिजिटल पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ। यही योजनाअनुसार प्रशासनिक प्रक्रियालाई सहज बनाउन ‘वान टाइम केवाईसी’ प्रणाली लागू गर्ने तयारी पनि गरिएको छ, जसले एउटै विवरण बारम्बार बुझाउनुपर्ने झन्झट हटाउनेछ।
त्यससँगै ई–सिम वितरण, सिम पुनःप्राप्ति, स्वामित्व परिवर्तन र गुनासो व्यवस्थापन जस्ता सेवाहरूलाई पूर्ण रूपमा अनलाइनमा लैजाने योजना अघि बढाइएको छ। सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले टेलिकमका कार्यालयहरूमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने तयारीसमेत गरिएको छ।
यस्तै, फोरजी सेवाको गुणस्तर सुधार गर्न आवश्यक नीतिगत संशोधन र थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ। यी सुधारले इन्टरनेटको गति र स्थायित्वमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
केही समयअघि गृहमन्त्री सुदन गुरुङले पनि टेलिकममै पुगेर डेटा सकिएपछि स्वत: पैसा कट्ने व्यवस्था हटाउन आग्रह गरेका थिए।


