काठमाडौँ: स्वर्णिम होटल लिमिटेडले राजधानीको टंगालमा सञ्चालनमा रहेको होलिडे इन एक्सप्रेसको क्षमता बढाउन लागेको छ। स्वर्णिमले हाल ९० कोठा रहेको होलिडे इन एक्सप्रेसको क्षमता ४४ कोठा बढाएर १३४ पुर्याउने भएको हो।
प्रस्तावित होटल होलिडे इनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार पारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत इआईए स्वीकृतिका लागि सिफारिससहित प्रतिवेदन वन मन्त्रालयमा पुगेको छ।
सात दिनभित्र सुझाव दिन वन मन्त्रालयले भनेको छ। प्राप्त प्रतिवेदनअनुसार आफ्नै स्वामित्वको १० हजार ८५ वर्गमिटर क्षेत्रफल जग्गामा ९० कोठामा होटल सञ्चालनमा रहेको छ।
होलिडे इन एक्सप्रेस २०८० कात्तिकदेखि सञ्चालनमा आएको हो। होटल पूर्वाधार बनाउन दुई अर्ब लगानी भएको थियो। होटलसँगै जोडिएको एक हजार ३७ वर्गमिटर क्षेत्रफलको जग्गा १५ वर्षका लागि लिजमा लिई १३४ कोठामा विस्तार गर्ने लक्ष्यअनुसार प्रस्ताव तयार गरिएको स्वर्णिम होटलले जनाएको छ। होटलमा हाल कुल निर्माण क्षेत्रफल ४६ सय ७६ वर्गमिटर रहेको एक १२ तले भवन रहेको छ।
अब कुल निर्माण क्षेत्रफल पाँच हजार ५६ वर्गमिटर भएको थप १० तले भवन निर्माण गर्न लागेको स्वर्णिमले जनाएको छ।
होटलले भवन सम्बन्धी प्रचलित मापदण्डअनुसार खुला क्षेत्र, पार्किङ लगायतका मापदण्ड पूरा गर्नेछ। यस होटलमा अतिथि सेवा, भान्सा तथा रेस्टुरेन्ट, बैक्वेट हल, जिम, स्विमिङ पुल जस्ता सेवाहरू रहने भएको छ। होटलमा प्रतिदिन करिब ४८ हजार लिटर भूमिगत पानी उपयोग हुने देखिन्छ।
स्वर्णिम होटलले साधारण सेयर (आईपीओ) निष्काशनको पनि तयारी गरिरहेको छ। कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा गत मङ्सिर १६ गते बोर्डमा आवेदन दिएको छ।
कम्पनीले ३८ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्नको लागि अनुमति माग गरेको हो। आईपीओ निष्काशन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ।
होटलको सञ्चालकहरुमा नरेशलाल श्रेष्ठ रहेका छन्। उनको ३८ प्रतिशत सेयर लगानी रहेको छ। उनी कम्पनीका अध्यक्ष हुन् ।


