काठमाडौँ: सम्पत्ति शुद्धीकरण विभागले विवादास्पद व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालका घर तथा कार्यालयमा छापा मारेको छ। वैशाख १ गते नयाँ वर्षको दिनमा विभागले १२ घण्टाभन्दा बढी समय लगाएर छापा मारेको हो।
मंगलबार दिनभर विभागले नेपाल प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोलीले छानबिन गरी महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको विभाग स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूको निजी घरसहित हिमालय रि इन्स्योरेन्सको कार्यालयमा पनि छापा मार्दै सिल गरिएको छ।
स्रोतका अनुसार कार्यालय र निवासबाट आधा दर्जन मोबाइल फोन, ल्यापटप, डेस्कटप, कागजातहरू, सीसीटीभी र त्यसको सर्भर नियन्त्रणमा लिइएको छ। यस्तै भट्टको निवासमा फेला परेका १० वटा गाडी समेत सिल गरिएको छ।
हाल भट्ट र अग्रवाल दुवै अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २० गते नियन्त्रणमा लिइएको थियो।
राजनीतिक संरक्षणमा विचौलियाका रूपमा राज जन्माएका भट्टको आर्थिक गतिविधि र व्यावसायिक संलग्नतामाथि अनुसन्धान भैरहेको छ।
भट्टमाथि लामो समयदेखि राजनीतिक पहुँचको आधारमा सेटिङमार्फत् स्वार्थअनुरूप काम गराउँदै आएको आरोप लाग्दै आएको थियो। सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कडाइका साथ अनुसन्धान अघि बढाइएपछि भट्टमाथि कारबाही प्रक्रिया अघि बढेको हो।
भट्ट इन्फिनिटी होल्डिङ्स प्रालिका प्रमुख हुन्। यस कम्पनीमा भएको शंकास्पद वित्तीय कारोबारका कारण उनी २०७९ मंसिरमै अनुसन्धानको दायरामा तानिएका थिए। नेपाल राष्ट्र बैंकले कम्पनीको पुँजी अस्वाभाविक रूपमा वृद्धि भएको र लगानीको स्रोत नखुलेको भन्दै छानबिनका लागि सिफारिस गरेको थियो।
यस्तै अग्रवालको नाममा हङकङ, दुबई र सिङ्गापुरलगायत देशमा अवैध लगानी रहेको आरोप छ।


