काठमाडौँ: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सार्वजनिक यातायात भाडा पुनः वृद्धि गर्न माग गरेको छ। महासंघले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै स्वचालित प्रणालीअनुसार तत्काल भाडा समायोजन गर्न आग्रह गरेको हो।
महासंघका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा देखिएको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएको छ। नेपाल आयल निगमले केही दिनकै अन्तरालमा डिजेल र पेट्रोलको मूल्य उल्लेखनीय रूपमा वृद्धि गरेपछि यातायात व्यवसायीहरू थप मारमा परेको महासंघले जनाएको छ।
यसअघि गत चैत २५ गते यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा वृद्धि गरिएको थियो। तर त्यसयता पुनः इन्धनको मूल्य बढ्दै गएपछिभाडा पुनः समायोजन गर्नुपर्ने महासंघको भनाइ छ।
स्वचालित प्रणालीअनुसार ५ प्रतिशतभन्दा बढी इन्धन मूल्य वृद्धि हुँदा भाडा समायोजन गरिनुपर्ने व्यवस्था भए पनि पछिल्ला दुई वर्षदेखि उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको पत्रमा उल्लेख गरिएको छ। अन्यथा पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने महासंघको भनाइ छ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा रहेका प्रिपेड ट्याक्सीको भाडासमेत लामो समयदेखि समायोजन नभएको भन्दै त्यसलाई पनि अद्यावधिक गर्न माग गरिएको छ।
महासंघले यातायात सेवा निरन्तर सञ्चालन गर्न कठिन भएको जनाउँदै तत्काल वैज्ञानिक तथा स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।


