नेपाली कांग्रेसले गृहमन्त्रीमाथि लागेका आरोपको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। मन्त्री गुरुङलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग व्यावसायिक साझेदारी रहेको आरोप लागेको छ।
उक्त सेयरबारे मन्त्री गुरुङले आफ्नो सम्पत्ति विवरणमा नखुलाएपछि उनको लगानीको स्रोतको वैधानिकतामाथि प्रश्न उठेको छ।
केन्द्रीय कार्यसमितिको बैठकपछि जारी प्रेस विज्ञप्तिमा कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरेको छ। पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत तत्व भएकाले यस्ता विषयमा निष्पक्ष छानबिन अपरिहार्य रहेको पार्टीको धारणा छ।
विज्ञप्तिमा गृहमन्त्रीसँग जोडिएको प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितामाथि प्रश्न उठाएको उल्लेख गर्दै अनुसन्धान प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउनुपर्नेमा जोड दिइएको छ। सम्बन्धित पदमा रहेका व्यक्तिबाट अनुसन्धानमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका रहेको पनि कांग्रेसले जनाएको छ।
कांग्रेसले सबै आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त सुरु गर्न माग गर्दै यसलाई ढाकछोप वा प्रभावमा पार्ने कुनै पनि प्रयासले सुशासन र जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।



