काठमाडौँ: गोल्छा ग्रुपअन्तर्गत हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमै गाडीका लागि आवश्यक मोबिल (लुब्रिकेन्ट) उत्पादन थालेको छ। हंशराज हुलासचन्द एण्ड कम्पनीले इन्डियन आयल कर्पोरेशन (आईओसी) लिमिटेडको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानीमा नेपालमा सर्भो लुब्रिकेन्ट उत्पादन सुरु गरेको हो।
नवलपुरको देवचुलीमा स्थापना भएको कारखानाबाट सर्वो औद्योगिक तथा अटोमोबाइल लुब्रिकेन्ट उत्पादन सुरु भएको ग्रुपका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालबाट जानकारी गराएका छन्। उनले नेपालमा मोबिल उत्पादन सुरु भएको घोषणा गर्न पाउँदा गर्व महसुस भइरहेको प्रतिक्रिया दिएका छन्।
‘यो विश्वास, साझा दृष्टिकोण र गुणस्तरप्रति प्रतिबद्धतामा निर्मित इन्डियन आयल कर्पोरेशन र गोल्छा समूहबीचको बलियो साझेदारीको परिणाम हो’ उनले भनेका छन्।
मोबिल कारखानाले १५० जनाको लागि रोजगारी सिर्जना गर्नुका साथै नेपाललाई अझ आत्मनिर्भर देश बनाउने दिशामा एक कदम भएको गोल्छाले बताएका छन्।
२०८० जेठ १९ मा स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने हंशराज र इन्डियन आयलबीच सम्झौता भएको थियो। दुवै कम्पनीले आधा हिस्सा रहेको छ। यसमा लगानी लगभग ६० करोड रुपैयाँ बढी हुने बताइएको छ।
यो साझेदारीले मुलुकको आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवर्द्धन गर्न र मोबिल उत्पादन र प्राविधिक विकासलाई अगाडि बढाउन सहयोग गर्नेका साथै ‘मेड इन नेपालको’को परिकल्पनालाई साकार पार्न बताइएको छ।
नेपाल आयल निगम लिमिटेडले आईओसीसँग पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। इन्डियन आयलको उत्पादन सर्वोको नेपालमा राम्रो बजार हिस्सा रहेको छ।
नेपालमा सर्वोको बिक्री वितरण हंसराज एन्ड हुलासचन्द कम्पनीले गर्दै आएको छ। नेपालमै उत्पादन भएपछि सर्वो मोबिलको मूल्य पनि कम हुने संभावना छ। यद्यपि, कम्पनीले बिक्री मूल्य खुलाएको छैन्।


