काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गाका संरचना हटाउन सूचना जारी गरेको छ। प्रशासनले शुक्रबार साँझ ७ बजेभित्रमा अवैध रूपमा बनाइएका घर टहराहरू खाली गर्न भनेको हो।
शनिबार बिहान ६:०० बजेदेखि नैघर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुने सूचनामा भनिएको छ । त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिकाले संयुक्त रूपमा बस्ती खाली गर्न लागेकोमा समयमै त्यहाँको व्यक्तिगत सम्पत्ति खाली गर्न अन्यथा क्षति भएमा त्यसको जिम्मेवार आफैँ हुन पनि सूचनामा चेतावनी दिइएको छ।
यस्तो छ सीडीओ कार्यालयको ६ बुँदे सूचना :
१. यसरी अवैध रूपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७:०० बजे भित्रमा खाली गर्नुहोला। आफैले सार्न नसक्ने अवस्थामा महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्नुहोला । सुरक्षाकर्मीले आवश्यक ढुवानीको प्रबन्ध मिलाउनेछ।
२. यस्ता घर टहराहरूमा भएका आफ्ना निजी सरसामानहरू, लत्ता कपडा, घरपालुवा पशु पंक्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नुहोला ।
३. घर टहराहरूमा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामी व्यक्तिहरूलाई प्राथमिकता दिई अन्यत्र सार्ने काम गर्नुहोला । यस कार्यका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनुहोला ।
४. मिति २०८३ वैशाख १२ गते बिहान ६:०० बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुनेछ । त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ । यस स्थानबाट उठाइएका सबै व्यक्ति तथा परिवारलाई सरकारले तोकेका विभिन्न बसोबासको आधारभूत न्यूनतम सुविधा प्राप्त स्थानहरूमा राखिनेछ ।
५. तपाईंहरूलाई सुरक्षित रुपमा बसोबासको व्यवस्था भएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुमवासीहरूको लगत लिने र स्क्रिनिङको कार्य तत्काल सुरु हुनेछ ।
६. आगामी १० देखि १५ दिनभित्र एकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने गरी तयारी भइरहेको छ । यस कार्यका लागि तपाईहरूले सहयोग गर्नुहोला ।



