काठमाडौ। प्रहरीले निर्माण व्यवसायी, राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ।
सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार साँझ उनला पक्राउ गरेको हो।
‘यसअघि पक्राउ परेका व्यक्तिहरुका बयानका आधारमा पाण्डेलाई नियन्त्रणमा लिनुपर्ने भयो, त्यसैले प्रकाउ गरिएको हो’, प्रहरी स्रोतले नेपाल क्लिक्ससँग भन्यो, ‘बाँकी अनुसन्धान पछि भन्न सकिएला।’
ब्युरोका एआईजी मनोज केसीले पाण्डेलाई नियन्त्रणमा लिइएको पुष्टि गरे। यसअघि प्रहरीले यो प्रकरणमा ६ जनालाई पक्राउ गरेको थियो।
हालसालै मात्र सरकारी निकायहरुबाट हुने इविडिङ प्रणाली ह्याक गरेर ठेक्का प्रक्रिया प्रभावित पार्ने प्रवृत्तीबारे नेपाली मिडियाहरुमा रिपोटिङहरु भएका थिए।
ठेक्का प्रक्रियामा ह्याकरको पहुँच निश्चित ठेकेदारहरुले तय गरेको सुँइको पाएपछि प्रहरीले यसबारे सोधखोज र अनुसन्धान सुरु गरेको थियो।


