काठमाडौँ: सगरमाथा आरोहणको मुख्य बाटोमा खतराको घण्टी बनेर झुण्डिएको एउटा विशाल हिउँको ढिक्का (सेराक), महँगो हवाई भाडा र बढेको अनुमति शुल्क— यी कुनै पनि कुराले हिमाल चढ्नेहरूको जोशलाई रोक्न सकेको छैन। चीनले मार्ग बन्द गरेपछि उच्च खर्चबीच आरोहीहरू नेपालतर्फबाटै सगरमाथा चढ्ने तयारीमा छन्।
यतिबेला झण्डै ४१० आरोही र उति नै संख्यामा उनीहरूका नेपाली गाइडहरू आधार शिविरमा जम्मा भएका छन्। यो महिना मौसमले साथ दिने साइत पर्खेर उनीहरू ८,८४८.८६ मिटर अग्लो संसारको सर्वोच्च शिखर चुम्ने तयारीमा छन्।
आरोहीहरू गत महिनादेखि नै ५,३०० मिटर उचाइमा रहेको आधार शिविरमा भेला हुन थालेका थिए। तर, दुई हप्ताभन्दा बढी समयदेखि एउटा विशाल र अस्थिर हिउँको ढिक्काले उनीहरूलाई माथि उक्लिनै नदिई बाटोमै रोकिदियो।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) द्वारा खटाइएका ‘आइसफल डक्टर’हरू (हिउँमा बाटो बनाउन खप्पिस गाइडहरू), जसले हरेक वर्ष खाडलहरूमा भर्याङ हाल्ने र डोरी टाँग्ने काम गर्छन्, उनीहरूले सामान्यतया वैशाखको सुरुवातमै बाटो बनाइसक्थे।
तर यो वर्ष त्यस्तो भएन।
ती टोलीले वैशाख १७ (अप्रिल २९) मा मात्रै बाटो त खोले, तर एउटा डरलाग्दो चेतावनीसहित– हिउँको उक्त ढिक्कामा धेरै ठाउँमा चिरा परेका छन् र यो जुनसुकै बेला खस्न सक्छ। सबै आरोही र एजेन्सीहरूले एकदमै सावधानी अपनाउनू। अचम्मको कुरा त के छ भने, हिउँको त्यो ढिक्का नपग्लिने देखेपछि टोलीले त्यसैको मुनिबाट जाने गरी नयाँ बाटो खनेको छ।
यो जोखिमपूर्ण ठाउँ खुम्बु आइसफलको एक हिस्सा हो, जहाँ १० तल्ले घर जत्रा हिउँका ढिस्काहरू जुनसुकै बेला खस्न सक्छन्। यसलाई सगरमाथा चढ्ने सबैभन्दा अप्ठ्यारो र कठीन खण्ड मानिन्छ।
यस्तो जोखिमका बीच आरोही र गाइडहरूमा उत्साहसँगै डर पनि उत्तिकै छ।
४० जना अन्तर्राष्ट्रिय आरोही र ९० जना शेर्पाहरूको टोली लिएर आएका अनुभवी गाइड लुकास फर्टेनबाख भन्छन्, ‘मलाई निकै चिन्ता लागेको छ। जसलाई अहिले डर लागेको छैन, कि त ऊसँग अनुभव छैन कि त उसले परिस्थितिलाई नजरअन्दाज गरिरहेको छ। त्यो हिउँको ढिक्का साँचो अर्थमा एक ठूलो खतरा हो।’
उनका अनुसार यो वर्षको बाटो अघिल्लो वर्षको तुलनामा बढी घुमाउरो र जोखिमपूर्ण छ। ‘हिउँ पग्लिएर बाटो बिग्रिएको मात्र होइन, यसपालि त अस्थिर संरचनाको मुनिबाटै जानुपर्ने बाध्यता छ,’ उनले थपे।
जोखिम कम गर्न आरोहीहरूले सामानको वजन घटाउने, खतरा भएको ठाउँमा कम समय बिताउने र अनुभवी शेर्पाहरूको सल्लाहमा मात्रै अघि बढ्ने जुक्ति निकालेका छन्।
काठमाडौँस्थित एशियन ट्रेकिङका आङ छिरिङ शेर्पा भन्छन्, ‘बिहान हिउँ जमेको बेला हिँड्नु अलि सुरक्षित हुन सक्छ, तर दिउँसो घाम लागेर हिउँ पग्लिन थालेपछि भने यो निकै खतरनाक हुन्छ। यो वर्ष होसियारी अपनाउनुको विकल्प छैन।’
२०७१ सालमा यसरी नै हिउँको ढिक्का खस्दा आएको हिमपहिरोले १६ जना नेपाली गाइडहरूको ज्यान लिएको थियो।
अहिले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालहरू तीव्र गतिमा पग्लिरहेकोमा विश्वभर चिन्ता छ। अघिल्लो वर्ष संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमै पुगेर हिउँ पग्लिएको भयावह दृश्यप्रति विश्वको ध्यानाकर्षण गराएका थिए।
आङ छिरिङ शेर्पाका अनुसार विश्वका विभिन्न ठाउँमा चलेका युद्ध र महँगीका बाबजुद सगरमाथामा आरोहीको संख्या भने घटेको छैन। पश्चिमा देशका आरोही केही कम भए पनि एसियाली आरोहीहरूको संख्या भने बढेको छ।
नेपाल र चीनको सिमानामा पर्ने सगरमाथा दुवैतिरबाट चढ्न सकिन्छ। तर, यो वर्ष चीनले आफ्नोतर्फको बाटो बन्द गरेकाले सबै आरोहीहरू नेपालकै बाटो (दक्षिण मोहडा) बाट शिखरतिर लाग्दैछन्।
सन् १९५३ मे २९ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक पाइला टेकेयता हजारौँले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। –एपी


