काठमाडौं– नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो।
मन्त्रालयले मेची अस्पतालमा डा. केशव दाहाल, कोसी अस्पतालमा डा. सिवी झा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहठ्ठा, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, गण्डकी अस्पतालमा डा. आनन्द नेपाल, वीरगञ्ज अस्पतालमा अतुलेशकुमार चौरसिया, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्लेलाई फोकल पर्सन तोकिएको सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. सर्वेन्द्र झा, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मणिलाल श्रेष्ठ, भेरी अस्पतालमा डा. बद्री चापागाईं, सुर्खेत अस्पतालमा डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ।
मंकीपक्स भाइरस नेपालमा कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान भइरहेको मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीले बताए । नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्स संक्रमण विश्वका १११ देशमा पुष्टि भइसकेको छ।
चिकित्सकका अनुसार एसपक्स मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ। मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन्। यद्यपि बिफरको तुलनामा मंकीपक्स कम गम्भीर र बिरलै घातक हुन्छ।


