काठमाडौं– गणतन्त्रको रक्षा, नेपाललाई साम्यवादको बाटोमा लैजाने र हालका लागि कांग्रेससँग सत्ता बार्गेनिङमा हात माथि पार्ने उद्देश्यसहित आज चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा हुँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दल मिलेर समाजवादी मोर्चा घोषणा गर्न लागेका हुन्।
नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको साझा सैद्धान्तिक उद्देश्य रहेको हिजो जारी गरेको १५ बुँदे लिखितले बताएको छ। सत्तामा रहिरहन प्रचण्डले टुटेफुटेका कम्युनिस्ट पार्टीलाई एउटै बनाएर खासमा कांग्रेससँग सत्ता बार्गेनिङ अस्त्र फाल्न थालेको यसले देखाउँछ।
समाजवादी मोर्चामा हाम फालेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निश्चित विचार र सिद्धान्त बोकेका कम्युनिस्टहरु एउटै हुनु स्वाभाविक भएको बताउँछन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले भने, ‘एकता राम्रो कुरा हो। राम्रो उद्देश्य बोकेर समाजवादमा जाने सबै शक्तिलाई मिलाएर लग्नुपर्छ भन्ने मान्यता मोर्चाको छ।’
समाजवाद (साम्यवाद) को उद्देश्य प्राप्तिका लागि १५ बुँदे वैचारिक एवं राजनीतिक प्रतिबद्धता तयार गरिएको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बताए। मस्यौदामा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने उल्लेख छ।
मोर्चामा सहभागी दलका नेताहरूले आलोपालो नेतृत्व गर्ने सहमति बनेको छ। केन्द्रीय मोर्चा घोषणापछि आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाइनेछ । मोर्चाले केन्द्रीय संयोजन समिति बनाएको छ। संयोजन समितिको सचिवालय रहनेछ ।
मोर्चामा हालसम्मका उपलब्धिको रक्षा गर्दै समाजवादको बाटो तय गर्ने भन्दै आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समृद्धिका सवालमा पनि साझा धारणा बनाइएको छ। मानव विकास सूचकांकमा पछाडि परेका मधेश, कर्णाली र सेती–महाकालीलगायत पिछडिएको क्षेत्र, जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने उल्लेख छ। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले वहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी, जनजाति, खस, दलित, मुस्लिम, थारु, अल्पसंख्यक समुदायलगायतको पहिचान, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने प्रतिबद्धता गरिएको छ।
समाजवादी मोर्चाले विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेजीका लागि पहल गर्नेछ। आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर समाजवादी मोर्चा सार्वजनिक गरिने नेताहरुले बताएका छन्।
मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान सामेल छैन।
१० दलीय गठबन्धनको मुख्य टेको कांग्रेसले प्रधानमन्त्रीलाई सहयोग गर्दै आए पनि भविष्यमा घात हुने डरले मोर्चा निर्माण गरिएको बुझ्न कठिन छैन। मोर्चाले अघि सारेको दस्तावेजमा प्रचण्ड, उपेन्द्र यादव, माधवकुमार नेपाल, नेत्रविक्रम चन्दले हस्ताक्षर गर्नेछन्। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चाको आधार तयार गरेका हुन्। उनीहरूले सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर समाजवादी मोर्चा सार्वजनिक गर्न लागेका हुन्।
मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान सामेल छैन। ती दलबिनै उनीहरूले राजनीतिक आधार तयार पारेर मोर्चा गठनलाई अन्तिम रूप दिन लागेका हुन्। केन्द्रमा अहिले १० दलीय गठबन्धन छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग सुविधाजनक बहुमत छ।
संसदको पहिलो शक्ति नेपाली कांग्रेसको दर्बिलो साथ पाएकाले कार्यसम्पादन त्यति चुनौतीपूर्ण पनि देखिँदैन। तर, प्रधानमन्त्री प्रचण्डसहित सरकारमै रहेका अरू दुई घटक जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले मोर्चा नबनाई देशलाई अग्रगामी निकास दिन नसकिने निचोड निकालेका छन्। सोहीअनुसार दस्तावेज तयार पारिएको छ। मोर्चा गठनको औचित्य पुष्टि गर्न खोजिएको छ।


